दिल्लीको लाल किल्ला मेट्रो स्टेशनबाहिर विस्फोट, कम्तीमा आठ जनाको मृत्यु


बीबीसी । दिल्लीको लाल किल्ला मेट्रो स्टेशननजिकै एउटा कार विस्फोटन भएको छ। घटनामा कम्तीमा आठ जनाको मृत्यु भएको प्रहरीले बताएको छ ।

दिल्लीको अग्निनियन्त्रक सेवाले जानकारी दिएअनुसार साँझ ६ः५५ फोन गरेर लाल किल्ला मेट्रो स्टेशनको गेट नम्बर एक नजिक कार विस्फोटन भएको बताइएको थियो । त्यसपछि ६ वटा गाडीमा आगो लागेको थियो । त्यसबाहेक रोकिएका केही गाडीहरूमा पनि क्षति पुगेको थियो ।

दिल्ली प्रहरीले कम्तीमा आठ जनाको ज्यान गएको र कैयौँ घाइते भएका जनाएको छ । दिल्ली अग्निनियन्त्रण एकाइका अनुसार उक्त क्षेत्रमा सात वटा दमकल पठाइएको थियो ।

विस्फोटको कारणबारे जाँच भइरहेको प्रहरीले बताएको छ । लाल किल्ला मुगलहरूले १७ औँ शताब्दीमा निर्माण गरेको स्मारक हो । प्रहरीले अहिलेसम्म के कारणले विस्फोटन भयो आफूले थाहा पाइनसकेको उल्लेख गरेका छन् ।

समाचार एजेन्सी एएनआईले केही घाइतेहरूलाई एलएनजेपी अस्पताल लगिएको जनाएको छ । यसअघि भारतीय प्रहरीले नयाँ दिल्लीको फरिदाबाद नजिकैको एउटा अपार्टमेन्टबाट ठूलो परिमाणमा विस्फोटक सामाग्री र हतियारहरू फेला पारेको थियो ।

अधिकारीहरूले ३०० किलोग्रामभन्दा बढी विस्फोटक सामाग्री, एउटा एके–४७ राइफल र गोलीगठ्ठा बरामद भएको उल्लेख गरेका छन् ।