काठमाडौं । नेकपा एमालेका फिर्ता भएका किसान श्रेष्ठले विभिन्न कारणले पार्टी विद्रोहमा लाग्नु जीवनकै ठूलो भूल भएको बताएका छन् ।
सोमबार राष्ट्रिय सभा गृहमा एमाले प्रवेश गर्दै श्रेष्ठले विगतमा भएका गल्ती, कमजोरीलाई सच्याउँदै पार्टीमा फर्किने अभियानमा सामेल हुन सबैमा आग्रह गरे ।
उनले भने, ‘विगतमा विभिन्न कारणले हामी पार्टी विद्रोहमा लागेकै हौँ र त्यो हाम्रो जीवनकै भूल थियो भन्ने कुरा समयले बताएको छ । यसर्थ, विगतमा भएका गल्ती, कमजोरीलाई सच्याउँदै पार्टीमा फर्किने अभियानमा सामेल हुनुहुन देश तथा विदेशमा रहनुभएका सम्पूर्ण कमरेडलाई हामी आह्वान गर्दछौँ । यस्तो काम समयमै गर्दा स्वयं व्यक्ति, पार्टी र मुलुकका निम्ति हितकर हुन्छ ।’
एमाले छोडेपछि पार्टी केवल एउटा संगठन मात्र नभई एमाले आदर्श, दृष्टि र राष्ट्र निर्माणको मूल प्रवाह भएको आफूहरुले बुझेको बताए ।
उनले भने, ‘आज हामी केवल पार्टीमा फर्किएका हैनौँ, हामीले हाम्रो आदर्श, मार्ग र प्रतिबद्धता फर्काएका छौँ । हामीसँगै आएका र आउने क्रममा रहनुभएका साथीहरू पनि यही भावनाका प्रतिनिधि हुनुहुन्छ । अब आगामी राजनीतिमा, हामी सबै मिलेर एमालेलाई अझ सबल, आधुनिक र जनमुखी बनाउन तयार छौँ । देशलाई आर्थिक समृद्धि र स्थायित्वको बाटोमा अघि बढाउने यात्रामा हामी सबै केपी शर्मा ओलीज्यूको नेतृत्वमा पुनः एकताबद्ध हुँदैछौँ । आज म र हामी समस्त फर्किएका साथीहरु यहाँ अत्यन्त भावुक मन लिएर उभिएका छौँ ।’

प्रतिक्रिया