ट्रम्प डकुमेन्ट्री सम्पादन विवादपछि बीबीसीका महानिर्देशक र समाचार विभाग प्रमुखद्वारा राजीनामा


बीबीसी । बीबीसीको एक प्रसिद्ध कार्यक्रम ‘प्यानोरमा’ अन्तर्गत प्रशारित एक वृत्तचित्रमा समावेश गरिएको अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको सम्पादित भाषणले दर्शकहरूलाई भ्रमित पारेको भन्दै आलोचना भएपछि बीबीसीका महानिर्देशक टिम डेभी र समाचार विभाग प्रमुख डेबोरा टर्नेसले पदबाट राजीनामा दिएका छन् ।

यो सार्वजनिक प्रसारण संस्थाले विभिन्न विवाद र पूर्वाग्रहका आरोपहरू खेप्नुपरेपछि डेभी दबावमा परेका थिए। उनी पाँच वर्षदेखि उक्त पदमा थिए । बाहिर चुहिएको बीबीसीको एक आन्तरिक परिपत्रको विस्तृत विवरण द टेलिग्राफ पत्रिकाले सोमबार प्रकाशित गरेको थियो ।

त्यसमा प्यानोरमा कार्यक्रमले ‘अमेरिकी राष्ट्रपतिको भाषणका दुई भागमा भएको सम्पादनले उनले जनवरी २०२१ मा क्यापिटल हिलमा भएको दङ्गा गर्न उक्साएको जस्तो देखाएको’ उल्लेख छ ।

बेलायतका नेताहरूले डेभी र टर्नेसका राजीनामाले परिवर्तन हुने आशा व्यक्त गरेका छन्। ट्रम्पले पनि उक्त निर्णयको स्वागत गरेका छन् । बीबीसीका कार्यकारी निर्देशक र समाचार प्रमुखले एकैदिन राजीनामा दिनु अभूतपूर्व घटना हो।