सुकुम्बासी बस्तीमा डोजर नचलाउन बालेनलाई दुर्गा प्रसाईँको चेतावनी


काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहविरुद्ध आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।

आइतबार मनोहरा खोला आसपासका सुकुम्बासी बस्तीमा पुगेका उनले बालेनप्रति कटाक्ष गरेका हुन् । उनले आफू सुकुम्बासीको पक्षमा उत्रिने घोषणा समेत गरे ।

सुकुम्बासी बस्तीमा भएको भेलामा स्थानीयलाई सम्बोधन गर्दै उनले आगामी मंसिर ७ गतेदेखि सुरु हुने आफ्नो आन्दोलनमा उनीहरुलाई पनि सहभागी हुन आग्रह गरे ।

सुकुम्बासी बस्तीमाथि भइरहेको अन्यायका विरुद्ध आवाज उठाउनुपर्ने बताउँदै प्रसाईँले भने, ‘गरिबको घर भत्काउँदाखेरि कतै तपाईंको घर पो भत्किने हो कि ख्याल गर्नुहोस् । सुकुम्बासीमाथि भइरहेको अत्याचार सह्य छैन ।’

उनले काठमाडौं महानगरलाई सुकुम्बासी बस्तीमा अत्याचार गर्नु अघि बालमन्दिर खाली गर्न चुनौती दिए । प्रसाईँले भने, ‘पहिला बालमन्दिर खाली गर्नुहोस्, त्यसपछि मात्रै सुकुम्बासी बस्तीमा आँखा लगाउनुहोस् । भूमिहीनका घर भत्काउनु भन्दा अगाडि घर, बाटो, बिजुली र खानेपानीको व्यवस्था गरौं ।’

प्रसाईँले मंसिर ७ गतेदेखि सुरु हुने अनिश्चितकालीन ‘नेपाल बन्द’ आन्दोलनमा साथ दिन सर्वसाधारणलाई आग्रह गरे ।