एमाले केन्द्रीय सदस्य पासाङ शेर्पा पक्राउ


काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य पासाङ शेर्पा पक्राउ परेका छन् । बहुविवाहको मुद्दामा अदालतबाट दोषी ठहर भएका शेर्पालाई प्रहरीले मंगलबार साँझ धुम्बाराहीबाट पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी रमेश थापाले पासाङ पक्राउ परेका जानकारी दिए । एमालेको जनसंगठन जनजाति महासंघका अध्यक्षसमेत रहेका उनीविरुद्धको बहुविवाह मुद्दामा उच्च अदालत पाटनले गत वर्ष दोषी ठहर गरेको थियो ।

पासाङकी श्रीमती करिश्मा खरेलले जिल्ला अदालत काठमाडौँमा मुद्दा हालेकी थिइन् । अदालतले दोषी ठहर गर्दै एक वर्ष कैद र पाँच हजार जरिवानाको सजाय सुनाएकोमा त्यसविरुद्ध उनी उच्च अदालत पुगेका थिए । उच्चले पनि जिल्लाको आदेश सदर गरे पनि राजनीतिक संरक्षणमा उम्किंदै आएका थिए ।