महासंघ अध्यक्ष ढकालको पहलमा यसरी निस्कियो डेडिकेटेड र ट्रंकलाइन विवादको निकास


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले डेडिकेटेड र ट्रंकलाइनको प्रिमियम महसुल विवादका कारण लाइन काटिएका उद्योगीले धरौटी बुझाएपछि तुरुन्त लाइन जोडिने बताएका छन् ।

मंगलबार सामाजिक संजालमार्फत ढकालले आफ्नो व्यक्तिगत पहलमा विवादको मध्यमार्गी प्रस्ताव आएको बताएका हुन् ।

उनले भनेका छन्, ‘नेपाल उद्योग वाणिज्य महासंघ तथा मेरो व्यक्तिगत पहलमा सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीज्यू, अर्थमन्त्री रामेश्वर खनालज्यू, ऊर्जामन्त्री कुलमान घिसिङज्यू, उद्योग वाणिज्यमन्त्री अनिल सिन्हाज्यू, मुख्य सचिव एकनारायण अर्यालज्यू तथा सम्बन्धित मन्त्रालयका सचिवज्यूहरूसँगको उच्चस्तरीय छलफलपछि डेडिकेटेड फिडर र ट्रंकलाइन शुल्क विवादको मध्यमार्गी प्रस्ताव आएको छ । यस प्रस्तावअनुसार उद्योगीहरूले पहिलेको २८ किस्ता सुविधा अनुसारको एक किस्ता बराबरको रकम धरौटीका रूपमा बुझाएपछि काटिएका विद्युत लाइन तुरुन्त जोडिनेछ। यससँगै उद्योगीहरूले विवादित रकममा पुनरावलोकन र कानुनी उपचार खोज्ने अवसर पनि पाउनेछन्।’

उनले यस कदमबाट निजी क्षेत्र र सरकारबीच थप विश्वास र सहयोगको वातावरण बनेको उल्लेख गरेका छन् ।

उनले भने, ‘यस कदमबाट उद्योगहरूमा विद्युत आपूर्ति सुचारु भइ उद्योग सञ्चालन नियमित हुनेछ भने निजी क्षेत्र र सरकारबीच थप विश्वास र सहयोगको वातावरण बनेको छ । महासंघ वार्ता र छलफलको माध्यमबाट उद्योग व्यवसायहरूको हरेक समस्याको न्यायपूर्ण र दिगो समाधानका लागि निरन्तर पहल गर्दै आएको छ।’