जेनजी पुस्ता राजनीतिमा आउन तयार नभए नेपाली राजनीतिमा उही पुरानै चक्र दोहोरिन्छः बाबुराम भट्टराई


काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जेनजी लगायतका युवा पुस्ताले निर्वाचनमार्फत देशको नेतृत्व लिन तयार हुनुपर्ने बताएका छन् ।

मंगलबार सामाजिक संजालमार्फत भट्टराईले त्यसका निम्ति मतदाता सूचीमा बेलैमा नाम दर्ता गर्ने काम पहिलो कदम भएको उल्लेख गरेका हुन् ।

उनले युवा पुस्ता यसमा सजग नभए नेपाली राजनीतिमा उही पुरानै चक्र दोहोरिने र युवाहरुले पछुताउनुपर्ने बताएका छन् ।

उनले भनेका छन्, ‘यति युगान्तकारी र वलिदानीपूर्ण आन्दोलन पछि अब जेनजीलगायतका युवा पुस्ताले निर्वाचनमार्फत देशको नेतृत्व लिएर अघि बढ्ने मार्ग अनुसरण गर्नु उपयुक्त हुन्छ। त्यसनिम्ति मतदाता सूचीमा बेलैमा नाम दर्ता गर्ने काम पहिलो कदम हो। तसर्थ देश–विदेशमा रहनु भएका सबैले नियम अनुसार समयमै नाम दर्ता गर्न सबैलाई हार्दिक आग्रह गर्दछु। नत्र नेपाली राजनीतिमा उही पुरानै चक्र दोहोरिने र युवाहरुले पछुताउनुपर्ने स्थिति आउन सक्छ।’

उनले यसका लागि सरकारले र निर्वाचन आयोगले उपयुक्त र सम्भव बाटो अबलम्वन गरेर नागरिकता प्राप्त गर्ने र भोट हाल्ने उमेर एउटै अर्थात् १६ वर्ष गर्नु राम्रो र सहज हुने बताएका छन् ।

उनले भनेका छन्, ‘यसको साथै सरकारले र निर्वाचन आयोगले उपयुक्त र सम्भव बाटो अबलम्वन गरेर नागरिकता प्राप्त गर्ने र भोट हाल्ने उमेर एउटै अर्थात् १६ वर्ष गर्नु राम्रो र सहज हुनेछ। त्यस अतिरिक्त निर्वाचनमा उम्मेदवार बन्ने उमेर हद २५ वर्षबाट घटाएर १८ वर्ष वा कमसेकम २१ वर्ष गर्नु आवश्यक छ। नत्र पछिल्लो आन्दोलनका अगुवा जेनजी युवाहरूलाई आसन्न निर्वाचन ’जसको विहा उसैलाई नजिक नल्या’ भन्ने लोकोक्ति जस्तो हुनेछ।’