जेनजी आन्दोलनमा बढी क्षति भएका क्षेत्रका प्रहरी इन्चार्जलाई उपत्यका नछाड्न निर्देशन


काठमाडौं । प्रहरी प्रधान कार्यालयले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा बढी क्षति भएका क्षेत्रमा खटिएका प्रहरी इन्चार्जलाई काठमाडौं उपत्यका नछाड्न निर्देशन दिएको छ ।

प्रहरी प्रधान कार्यालयले काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीलाई पत्राचार गर्दै त्यस्ता इन्चार्जलाई हाललाई काठमाडौं उपत्यका नछाड्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो ।

ती इन्चार्जलाई भदौ २३ र २४ गतेको घटना सम्बन्धी सोधपुछका लागि कुनै पनि समयमा जाँचबुझ आयोगमा उपस्थितिका लागि बोलाइने हुँदा उपत्यका छाड्न नदिन भनिएको छ ।

पत्रमा भनिएको छ, ‘नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयको दर्ता नं. १९१५ मिनि २०८२/०७/१६ गतेको पर्चा सहित प्राप्त भाद्र २३ र २४ को घटना सम्बन्धी जाँचबुझ आयोग, २०८२ को सचिवालय सिंहदरबारको च.नं. १०७ मिति २०८२/०७/१६ गतेको पत्र आवश्यक कार्यार्थ यसै साथ संलग्न राखी पठाइएको व्यहोरा निर्देशानुसार अनुरोध गरिएको छ । सो सम्बन्धमा बढी क्षति भएको क्षेत्रहरुमा खटिएका प्रहरी इन्चार्जहरुलाई घटना सम्बन्धी सोधपुछका लागि कुनै पनि समयमा आयोगमा उपस्थितिको लागि बोलाउनुपर्ने हुँदा हाललाई काठमाडौं उपत्यका नछाड्ने व्यवस्था मिलाउन हुन समेत अनुरोध गरिएको छ ।’

जेनजी आन्दोलनमा भएको धनजनको क्षतिको छानबिन गर्न गठित जाँचबुझ आयोगले घटनाका बारेमा सोधपुछ थालेको छ ।