महाधिवेशनको मिति प्रस्ताव गर्न काँग्रेस संस्थापन पक्षधर नेताहरुको छुट्टै भेला आयोजना


काठमाडौं । नेपाली काँग्रेसको संस्थापन पक्षधर नेताहरु छुट्टै भेला भएका छन् । सोमबार मध्यान्ह काठमाडौंको एक होटलमा संस्थापन पक्षधर नेताहरु भेला भएका हुन् ।

भेलामा कार्यसम्पादन समितिमा नरहेका केन्द्रीय सदस्यहरु छन् । अहिले ५४ प्रतिशत १४ औं महाधिवेशन सदस्यहरुले नियमित महाधिवेशनको माग गर्दै हस्ताक्षर बुझाएका छन् ।

त्यस्तै संस्थापन पक्षधर नेताहरु भने वैशाखतिर मात्रै महाधिवेशन गर्नुपर्ने र अहिले निर्वाचनमा लाग्नुपर्ने बताउँदै आएका छन् । तर हस्ताक्षर कर्ताहरुले नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशन गर्नुपर्ने माग राख्दै आएका छन् ।

बैठकमा वीरबहादुर बलायर, नगिना यादव, सीता गुरुङ लगायतका नेताहरु रहेका छन् । भेलामा कार्यसम्पादन समितिमा नभएका संस्थापन समूहका केन्द्रीय सदस्यहरू सहभागी भएका नेता गुरु बरालले जानकारी दिए ।

यो समूहले पार्टीको १५औं महाधिवेशनको मिति प्रस्ताव गर्ने तयारी गरेको छ। कांग्रेसभित्र तत्काल महाधिवेशनको मिति तोक्ने या नतोक्ने भन्नेमा विवाद छ ।

जसका कारण केन्द्रीय कार्यसमिति बैठक पनि स्थगित भएको छ । महामन्त्री गगन थापासहित इतर समूहका नेताहरू मंसिर या पुसमै महाधिवेशन गर्नुपर्ने पक्षमा छन् भने संस्थापन पक्ष निर्वाचनपछि महाधिवेशन गर्नुपर्ने पक्षमा छ ।