माओवादी केन्द्र र गोपाल किराँतीको देशभक्त समाजवादी मोर्चाबीच पार्टी एकता


काठमाडौं । नेकपा माओवादी केन्द्र र देशभक्त समाजवादी मोर्चाबीच पार्टी एकता हुने भएको छ । माओवादी केन्द्रका महाधिवेशन आयोजक समितिका अध्यक्ष पुष्कपकमल दाहाल प्रचण्ड र मोर्चाका अध्यक्ष गोपाल किरातीबीच सोमबार पार्टी एकता गर्ने विषयमा हस्ताक्षर भएको हो ।

सहमति पत्रमा संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, समाजवादी राज्य–व्यवस्थाको कार्यान्वयन र दलाल–नोकरशाही पुँजीवादी शासन अन्त्य गर्न एकीकृत समाजवादी ध्रुवीकरणको आवश्यकता औंल्याइएको छ ।

सहमतिको पहिलो बुँदामा विगतका वैचारिक, राजनीतिक र सांगठनिक कमजोरीको वस्तुनिष्ठ समीक्षा गर्न कार्यटोली गठन गरी दस्तावेजीकरण गर्ने उल्लेख छ । सो प्रक्रियाबाट वर्गीय तहबाटै नयाँ आधारमा एकता र रुपान्तरणको दिशा तय गरिने बताइएको छ ।

दोस्रो बुँदामा गोपाल किरातीले विकसित गरेको ‘देशभक्तिपूर्ण पहिचानसहितको समाजवादी लोकतन्त्र’ विषयमा पार्टीभित्र व्यवस्थित छलफल गरी पूर्ण जनवादका आधारमा निर्णय लिने उल्लेख छ ।

तेस्रो बुँदामा उक्त सहमति कार्यान्वयनका लागि गोपाल किराती नेतृत्वका माक्र्सवादी क्रान्तिकारीहरु नेकपा (माओवादी केन्द्र)मा ध्रुवीकृत हुने निर्णय गरिएको छ ।

किरातीले यसअघि माओवादी छाडेर मोर्चा गठन गरेका थिए । यसअघि आइतबार आठ वटा कम्युनिष्ट पार्टीबीच एकताका लागि हस्ताक्षर भएको थियो ।