कहिले टुंगिन्छ शान्ति प्रक्रियाका बाँकी काम ?


काठमाडौं । नेकपा (माओवादी केन्द्र) महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल प्रचण्डले राष्ट्र गम्भीर संकटमा परेको भन्दै अहिलेको समय साम्राज्यवाद र समाजवादी क्रान्तिबीचको टक्करको चरण भएको बताएका छन् ।

शनिबार पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा शहीद प्रतिष्ठान नेपालको साधारण सभालाई सम्बोधन गर्दै प्रचण्डले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने जिम्मेवारी अझै अधुरो रहेको उल्लेख गरे । उनले त्यसका लागि सरकारमा हुँदा प्रयास र बाहिर हुँदा राज्यलाई निरन्तर सचेत गराउँदै आएको बताए ।

समाजवादी क्रान्ति नजिक, निराश हुनुपर्ने कारण नभएको भन्दै प्रचण्डले नेपालको वर्तमान परिस्थितिलाई ‘समाजवादी क्रान्तिको प्रारम्भिक संकेत’ का रूपमा व्याख्या गरे ।

उनले भने, ‘२३ र २४ का घटनाक्रमले देखाएको छ—क्रान्ति अब टाढा छैन, बरु नजिक आएको छ । जनताको असन्तुष्टि र आक्रोश सही ढंगले संगठित गर्न सके समाजवादी क्रान्ति छोटो समयमै सम्भव छ ।’

प्रचण्डले शहीद परिवार र बेपत्ता योद्धाका आफन्तहरूको भावनालाई सम्मान गर्दै भने,‘हरेक नेतृत्वले आश्वासन दिन्छ, तर परिणाम ढिलो हुँदा शहीद परिवारमा आक्रोश आउनु स्वाभाविक हो । म त्यो आवेगलाई जिम्मेवारीको बोधका रूपमा लिन्छु ।’

उनले आफूले प्रधानमन्त्री हुँदा वा विपक्षमा हुँदा पनि शान्ति प्रक्रियाका बाँकी कार्य पूरा गर्न निरन्तर प्रयास गरिएको उल्लेख गरे ।

प्रचण्डले वर्तमान अवस्थालाई ‘राष्ट्रको स्वाधीनता, भौगोलिक अखण्डता र सार्वभौमसत्ता’ माथिको गम्भीर चुनौतीको रूपमा चित्रण गरे ।