काठमाडौं । नेपाली काङ्ग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नेपाली काङ्ग्रेस संविधान, परिवर्तन र जनताको अधिकारको रक्षाको लागि बृहत एकतासहित अगाडि बढ्ने बताएका छन् ।
सोमबार काठमाडौंमा नेपाल तरुण दलको ७३ औं स्थापना दिवसको शुभकामना आदानप्रसाद कार्यक्रममा खड्काले विगतको इतिहासको कालखण्ड जस्तै जनताले फेरि नेपाली काङ्ग्रेसबाट अपेक्षा र आशा गरेको भन्दै कमी कमजोरीहरुलाई स्वीकार गर्दै बृहत एकतासहित अगाडि बढ्ने बताएका हुन् ।
उनले पार्टीको महाधिवेशन नियमित समयमै हुने बताए । खड्काले विशेष महाधिवेशनको मागलाई सम्बोधन गर्दै नियमित महाधिवेशन गर्ने निर्णय जारी केन्द्रीय समिति बैठकबाट हुने उनको भनाई थियो ।
उनले भने, ‘सबै कुरालाई एक ठाउँमा जोडेर जारी केन्द्रीय कार्यसमिति बैठकबाट फागुन २१ को निर्वाचन, पार्टीको नियमित अधिवेशन, भातृ संस्थाका अधिवेशन सबै विषयलाई अगाडि राखेर पार्टीका महाधिवेशन प्रतिनिधिले प्रस्ताव गर्नु भएको विशेष महाधिवेशनलाई नियमित महाधिवेशनको सीमाभित्र जोडेर वृहत एकतामा जोड दिइनेछ ।’
उनले तरुण दलको झण्डा बोकेर लोकतन्त्र र जनताको अधिकारको रक्षाको लागि एकपटक फेरि संगठित र एकताबद्ध हुनुपर्ने भन्दै नेपाली काङ्ग्रेस एउटा नयाँ संकल्पसहित अगाडि बढ्नको लागि तयार रहेको बताए । भदौ २३ र २४ गतेको घटनाले देशलाई प्रतिकूल अवस्थामा पुर्याएको उनले बताए ।

प्रतिक्रिया