-जेपी गुप्ता
खै तिथी मितिको यकिन भएन । हामी स्कूलका ठूलै क्लासमा पुगिसकेका थियौं । क्लास ठूलो भएर के गर्नु उमेरको हिसाबले आठवर्ष र कक्षाको हिसाबले पाँचमा पुगेपछि मात्र हामी अंग्रेजीको अल्फावेट पढ्न शुरू गरेका थियौं । यसको केहीपछि मात्र हामी सबै दौतरीहरू आफूलाई अरू भन्दा बढी पढक्कर देखाउन ‘ग्रेड सिक्स’ र अंग्रेजीको अर्को नाम ‘इंगलिस’ भन्न थालेका थियौं । जे होस, यो भन्दा पहिला नै मलाई भारतको अर्को नाम इंडिया हो भन्ने थाहा भैसकेको थियो । तर, मेरै केही साथीहरू थिए जसको एकाघरका काका दाजुहरू निकै क्लास उक्लेका थिए। परिवारकै यी सिनियरहरूको संगत र हप्कीदप्कीमा केही साथीहरूमा अलिक छिट्टै अंग्रेजी पसेको थियो । छिप्पिएकोलाई हामी गाँउको भाखामा ‘जुयाएल’ भन्थ्यौ। ती साथीहरू भने छिट्टो इंगलिस जान्ने भएकोले अलिक जुयाएल छन् भनेर हामी आपसमा गफिन्थ्यौ। म पनि ‘साभियत भूमि’ पढेर ‘युएसएसआर’ त बुझेकै थिए नि !
बि.स. २०२८ हाम्रो निम्ति बडो उल्लेख्य छ। यही सालदेखि शिक्षा क्षेत्रमा नयाँ शिक्षा योजना लागू भएर ठूला शहरका कलेजहरूमा उम्लिरहेको पंचायती व्यवस्थाको विरोधी चेतना हाम्रो गाउँको स्कूल तिर पनि आइपुगेको थियो । त्यस बखतका सर्वाधिक चर्चित नेता रामराजाप्रसाद सिंहले मेरो गाउँमा नेपाल विद्यार्थी संघको शाखा उदघाटन गर्नु भएको थियो । हामी मध्ये धेरैले उहाँलाई जिल्लाको जमिनदारका विद्रोही छोराको रूपमा चिनेका थियौं । काठमांडूतिर उहाँको वकालतको बडो चर्चा भैरहेको थियो। त्यसदिन उहाँको भाषण बेजोडको थियो । हामीले गणतन्त्र बुझेका थिएनौं, पंचायती व्यवस्थाको कठोरताका दिनहरू थिए। तर, त्यसबेला नै रामराजाको बोली राजाको विरोधमा कडा थियो । हाम्रो मनमा रामराजाले आगो लगाएर जानु गए । यसपछि उहाँ जेल परेको सुन्यौं। रेडियोमा जति बेलापनि देशमा विकासको मूल फुट्ने कुरा सुनिन्थ्यो। यो मूल फुटने कुरा सुनेर हामी खेतबारीमा पनि सावधानीले हिडन थालेका थियौं।
यसअघिदेखिनै खासगरी बि.स. २०२४ सालपछि जताततै ‘जनसहभागिता’ र ‘जनश्रमदान’ शब्दहरू सुनिन्थ्यो। मेरो गाउँ छेउबाटै राजमार्गको रेखांकन भएको थियो। अन्तैबाट यसको नामांकन महेन्द्र राजमार्ग भै यो नाम हाम्रो गाउँमा आइपुगेको थियो र सर्वाधिक कुराकानीको बिषय पनि भएको थियो। यस राजमार्गको बारेमा कोशी ब्यारेज पारी बडो बिवाद थियो। कोशी ब्यारेजको ५६ ढोका अहिले सप्तरी र सुनसरीमा २८–२८ बाँडिएको छ। तर त्यसबेला कोशी ब्यारेज पारी लौकही, अझ् खुनिया खोलासम्म सप्तरी नै पर्दथ्यो, छ पंचायत उतै थियो। राजमार्गको रेखांकन आजको इनरूवा बजार छलेर उत्तर तिरबाट पश्चिम लाग्ने योजना थियो। इनरूवाका होमबहादुर श्रेष्ठ र दीलबहादुर श्रेष्ठ दाजुभाइ बलिया पंच नेताहरू थिए । उनीहरूले बलजोड गरेर इनरूवासँग टँसाएर राजमार्गको रेखांकन गराएको कुराको बडो चर्चा थियो ।
यद्यपि, हाम्रा गाउँका भद्रभलाद्मी भन्थे जे गरे पनि बाटो त कोशी ब्यारेज भएरै आउने हो नि ! डर यस कुरोको थियो कि भारदहबाट हनुमाननगर हुँदै राजविराज तिर लाग्ने हो कि कञ्चनपुर हुँदै आजको बाटो भएकै रूपमा बढ्ने हो । मेरा गाउँका ठूलाबडाको कम पहुँच थिएन, छत्रबहादुर सिजापति पंचायतका रजगजबाल नेता सूर्यबहादुर थापाका साख्य बहिनी ज्वाइँ थिए । बोधबिक्रम पन्त, डा. लक्ष्मीनारायण दत्त, बस्नेतहरू, लुइँटेलहरूको बडो पहुँच थियो। अन्ततः बाटोको रेखा कञ्चनपुर हुँदै जानेगरी कोरियो । नभए, आज बरमझियाको पेडा थाहा हुने थिएन दुनियाँलाई । यसबाट बडो उत्साहित भए हाम्रा अग्रजहरू । अनि नयाँ बन्ने यस राजमार्गमा गाउँका सबैलाई हाँसीखुसी जनश्रमदान गर्न लगाइएको थियो। अब यही राजमार्ग भएर बस आउने छन् यो हाम्रो निम्ति सबैभन्दा ठूलो कौतुहलताको बिषय भएको थियो। जबकी, यसपछि पश्चिम–दक्षिण सप्तरीका ठूला नेताहरू कञ्चनपुरीयाका विरोधी भए, लामो समयसम्म । बाटो बन्ने भएपछि पारी विहारको भीमनगर, बीरपुर, फारवीसगंज जाँदा देखिने बसहरूसँग हामी मनमनै हाम्रो गाँउ तिर पनि गुडी आउन अनुरोध गरिरहेको हुन्थ्यौं । सीमा पारीको ‘अग्रवाल बस’ र विराटनगरतिरको ‘आराथुन बस’ को आगमन हाम्रो लागि लक्ष्मी पूजामा धन सम्पतिको वर्षा होस् भन्दापनि ठूलो आराधनाको बिषय बन्यो । स्कूलका सरहरूले पर्खन भन्थे, अब बस चढन पाउँछौं, दिनैपिच्छे लोभ्याउँथे ।
अह् क्याबात थियो, त्यसबाटोमा फत्तेपुर हुदै भारदहसम्म हनुमाननगरका लक्ष्मीले पैसेन्जर बोक्ने ‘विलीज’ जीप चलाएका थिए। हो, फत्तेपुर तिरबाट काठको गोलिया ढुवानी गरेर सीमा पारी पुर्याउने ऊ बेलाको ‘शक्तिमान’ ट्रकलाई सार्वजनिक यातायात नमान्ने हो भने लक्ष्मीको विलीज जीप नै हाम्रो गाउँठाउँको पहिलो सार्वजनिक यातायात थियो । यस जीपका खलासी बडो मुस्तैद हुन्थे । कुनै पनि कारणले जीप रोकिना साथै खलसीयाले तुरन्तै जीपको सधैं खुला रहने रेडिबाटरको ट्यांकमा झट्ट पानी हाल्ने गर्थे । जीप स्वंयले जन्माउने पाउडर धुलोको वादलभित्र आफ्नो बाटो खोज्दै बढ्नु पर्दथ्यो । स्टार्ट बन्द भयो कि चंखे खलसीया तुरून्त हैण्डिललाई बोनटको अगाडीको प्वालमा छिराएर फन्नक्क घुमाउने । क्याच्च क्याच्च गर्दै घुरर्घुर आवाजसँगै स्टार्ट हुनु….अहा…क्या अनुभव थियो !
स्कूलमा हाम्रा अग्रज केही दाइहरूले मैट्रिक पास गरी विरानगर तथा अन्यत्रका कलेजहरूमा नेतागिरी गर्न शुरू गरेका थिए । पुष्कर दत्त, नन्दप्रसाद गजुरेल, बिकाशबिक्रम पन्त, खगेन्द्र खड्का, अर्जुनसिंह परमार आदि । विकास पन्त बडो तिख्खर, सामाजिक काममा पनि खुब सक्रिय हुने। उनीहरूले विराटनगर तिरबाट बस चलाउने जुक्ति मिलाए । यसपछि हाम्रो गाउँमा ‘आराथुन’ बस आउने भयो । कति धेरै कौतुहलता थियो हामीमा ! खानापिना सबमा बेपर्वाह भएका थियौ हामी! बस आओस् यही थियो चाहना। हामी कक्षा कोठामा थियौ। अचानक, टाढाबाट ठूलो आवाज आयो, आहरह्यो। घ्वाँ घ्वाँ…..घुरघुर…घुरघुर गरि ! स्कूल भरी कोलाहल मच्चियो! बस आयो..बस आयो….! सर्वत्र यही आवाज…एलै बस..बस एलै…! भईया हौं…नेपाली मैथिली..एउटै आवाज बन्यो..बस आयो ! बस एलै हौं !! सरकारी कामकाजको भाषा र राष्ट्र भाषा एउटै भयो..बस आयो! बस एलै !! घच्क्क घच्क्क गर्दै बस स्कूलको अगाडी हुदै चाँदनी चोकतिर लाग्यो।
स्कूलको अनुशासन भंग भयो । ऊ बेलाका साना–ठूला सबै ‘जेनिजी’हरू फुक्का भए, सबै बन्धन चुँडियो । शिवनाथ सिंह सबभन्दा कडा हेडसर फेल भए ! ढोडिया सर अर्थात् जनक किशोर लाल दास । सब भन्दा कडा सर..फेल! दौड रे ! कुदौ..साथी…भाग रे…!!! सब चाँदनी चोकतिर बस हेर्न। बस छुन…!! बस चढ्न…!!! तर, मास्टरहरूले कहाँ मान्थे र ? पहिलेदेखि नै बालेश्वर झा ले तयार पारी राख्ने बाँसका करचीहरूको छडी एकाएक सबै मास्टरहरूका हातमा पुग्यो। बालेश्वर झा, हाम्रो स्कूलको पियन थिए। बदमास विद्यार्थीहरूलाई तह लाउने छडीका उनी स्टोकिष्ट हुन्थे। हेड सरले माग्यो कि तयार। त्यस बेला त्यसै भयो। तर सरहरू नरम भए। उनिहरू हामीलाई व्यवस्थित पारेर बस देखाउन चाहेका मात्र थिए। आज म याद गर्छु, हाम्रा ती सबै गुरू तथा स्कूलका पियन पालेहरू अस्ती भदौं २४ गतेसम्म रहेका नेपाल मुलुकका प्रधानमंत्रीको भन्दा धेरै ज्ञानी थिए। हाम्रा स्कूलका बालखहरू भाग्छन् भनेर बस न पठाउन बस कम्पनीलाई चिठ्ठी लेखेनन्। बस आयो पनि र हाम्रो ईच्छालाई बिचारेर व्यवस्थित रूपमा बस देखाए पनि। कुनै दुर्घटना भएन। मलाई लाग्छ, हाम्रा धेरै नेताहरू स्कूल आदिमा न पढेर पनि आफूलाई बाल सुलभ मनहरूलाई माया गर्नै नसक्ने गरी नृशंस बनाए।
मानिसको त्यति ठूलो भीड मैले गाउँमा कमै देखेको थिए । हो, एक पटक लामखुट्टे अर्थात् मच्छड भगाउने औषधि डि.टि.सी. पाउडर लिएर युएस ऐडको हेलिकोप्टर ओर्लेको थियो। त्यस बेलाको भीड जति बस हेर्ने बेला थिएन। चार जना पुलिस रहने चौकी थियो गाउँमा । अष्टमान श्रेष्ठ नामका हवल्दार थिए, झपक्क रात पर्नु अघिसम्म उनी कालो चश्मा लाउँथे । वास्तवमा उनले लाएको कालो सिसाको चश्माले पुरै राज्य शक्तिलाई ढाकेर राखेको थियो। अहिले संझन्छु, उलिे लिई हिँड्ने सखुवा काठको सानो लठ्ठी र चश्माले नदेखिने आँखामा राज्यको तीनवटै अंगहरू समाहित थियो। कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका; एक/चारको त्यो चौकीले कानूनको निर्माण, निसाफ र शासन सबै गर्दथ्यो। यिनै हल्दार अष्टमान आएपछि मात्र बस हेर्न आएका भीड नियन्त्रित भयो। हाम्रा सरहरूले राम्रो सुझाव दिए। बसको पछाडीको ढोकाबाट सबैलाई छिराउने र अगाडीको ढोकाबाट निकाल्ने। यसरी व्यवस्था मिलाईएपछि हामी समेत धेरैले गाँउमा पहिलो पटक पदार्पण गरेको बस हेर्न भ्यायौं। पंक्तिबद्ध भई बस भित्र छिरेपछि भ्याई नभ्याई भयो। कोही झ्याल खोल्ने, कोई झट्ट सीटमा बसी झ्याल बाहिर हेर्ने, कोई हिडदै नहिड्को बस गुडी पो हाल्छ कि भनेक बीच बीचमा ठडिएका फलामे पोल कस्सिएर समाई रहेको…अनेक उपाय गरी सरहरूले बाहिर पुर्याए हामीलाई। यस पछि दिनमा एक पटक त्यो आराथुन बस आउने र राती चाँदनी चौकमा बास बसेर भोली पल्ट विहानै बिराटनगर तिर जाने यातायात सेवा शुरू भयो।
यही बेला एउटा रमाईलो घटना भयो। चाँदनी चोकमा बडेमानको बरको रूख थियो, सयौं बर्ष पुरानो होला। राति बस त्यसैको मुनी पार्क गरिन्थ्यो। बर रूखका हाँगाहरू तलसम्म लत्रिएका हुन्थे। रोकिएका बसको छानाको ठिक माथी छुने गरी। त्यस रात बिचरा खलासी थकित भई त्यही बसको छानामा सुतेका थिए, गर्मी छल्नलाई पनि होला। बिहान डरेभरले बोलाको उठेन । माथि गई हेर्दा त नाकबाट रगत बग्दै गरी चलमल छैन, मरे बिचरा । गाउँमा ठूलै हल्लीखल्ली मच्चियो। पुलिस प्रशासन आफ्नो काममा लागे। धामीझाँक्रीहरूले देउता रिसाएको भने । मेरो साथी रितु भुजेलले भन्यो–’बुझ्यौं ठिक ठिक अध पहरीया…नाचे चौधरीया।” म उसको कुरा बुझ्नै गारो मान्छे। गफाडी मधेसमै जन्मेहुर्केको भुजेल खाट्टी भाषा बोल्थे। तर मैले बुझे। ‘अध पहर’ भनेको बोलचालको भाषामा आधी प्रहर हो, आधी रात भनेको। उसले भनेको थियो, ठिक आधी रातको प्रहरमा चौधरीया भूतले यिनलाई मारे। नाक थिचेर मारे, त्यसैले रगत बाहिरियो। हाम्रा स्कूलको सरले यसलाई कूतर्क भने। विज्ञानका विश्वनाथ साह सर हाम्रो गाउँका आइन्सटाइन थिए, अलवर्ट आईन्सटाइन । सरको बलियो मत थियो–’केटा हो, यस्तो कुरामा भर पर्नु हुँदैन। राम्ररी विज्ञान पढ, बोटानी पढ। यिनलाई अक्सिजनको अभाव भयो।
‘बनस्पतिले दिनमा कार्बन डाइअक्साइड लिएर अक्सिजन उत्सर्जन गर्छ, तर रातमा यसको विपरीत हुन्छ, अक्सिजन लिएर कार्बन डाइअक्साईड फाल्छ।’ बुझ्यौ, यिनलाई त्यसैले कार्बन डाइअक्साइड बढी भयो र मर्यो। म फसादमा परेको थिएँ–एकातिर रितु भुजेलको ‘चौधरीया थ्योरी’ यता विश्वनाथ सरको विज्ञान। तर हामी सबै विज्ञानको पक्षमा उभिएका थियौं। कुरा धेरै पुरानो भएपनि हाम्रो पुस्ता भने ‘राम अयोध्या जन्मेको होइन, हाम्रै ठाडीमा जन्मेका हुन्’ भनेर ‘बाल्टीमा घीउ अड्न सक्छ भने घीउमा बाल्टी किन अड्दैन ? भनी तर्क गर्नेमा परेनौं क्यार !
अहिले गाउँमा बसेर यी कुराहरू सम्झीसम्झी रमाइलो गर्ने मेरा दौँतरी साथीहरू विरलै भेटिन्छन्। सब आफ्ना लालाबालालाई हुर्काउन, पढाउन र जागिर खान बाहिर बाहिरै छन्। यिनीहरु कमै गाउँ आउछन्। म पनि आज मात्रै केही दिनपछि गाँउमा ओर्लें । अनि भेट भयो, विश्वनाथसँग । फेरि चिया पसलमा नाती खेलाउँदै आइपुगे जयनन्दन मंडल । विश्वनाथ अहिले रिक्सा ठेला चलाउँछन्, जयनन्दन घरखेतीमा छन्। उही चाँदनी चोकको अवशेषमा एउटा चिया पसल छ। मैले मेरा दुबै बालसखासँग भेट्ने मौका जुर्यो । राति नाईट बसको सवारी गरी गाउँ ओर्लेको, अनि कुरा उठ्यो गाउँमा पहिलो पटक बस आएको ! विश्वनाथलाई रिक्सा ठेला लिई जाने हतार थियो । जेपी भेट्दै गरौं है भनेर उनी लागे । म अहिले फेरिएको चाँदनी चोक मुन्तिर रहेको झुपरे चिया पसलमा धेरैबेर बसेर पुराना कुराहरू सम्झना गरिरहें ।

प्रतिक्रिया