-डा. गोविन्द एस उपाध्याय ।
आज युरोप, अमेरिका, अष्ट्रेलियाजस्ता देशहरू निर्धन जनता र निर्धन देशहरूका लागि सुशासन, उदारता, विकास तथा उच्च जीवनशैलीको पर्याय बनेका छन् । अमेरिका र अष्ट्रेलियाको इतिहास जानाजान मेटिएको छ । विश्वभरिका इतिहासका कितावमा अन्याय र बडो अपमान जनक तवरले ‘भारत, अष्ट्रेलिया, अफ्रिका र अमेरिकाको खोज गरिएका’ वर्षहरू तोकिएका छन् । मानौं, युरोपेली आउनु भन्दा पहिला यी भूभागहरूमा, देशहरूमा मानववस्ति नै थिएनन् । देशहरूको अस्तित्व नै थिएन । जब मैले २०१७ मा पहिलोपटक युरोपको यात्रा गरें, त्यहाँ भएको विकास र व्यबस्थाका पक्षहरू देखें – सुशासन र उच्चजीवनशैली देखेर प्रसन्नताको अनुभूति गरें भने भौतिक विकास देखेर मन खिन्न भयो । सायद पाठकलाई मेरो कुरा मन परेन । जसले ‘भारतको खोज भास्को डी गमाले १४९८ गरेका थिए’ भन्ने इतिहास पढ्दै आएको छ र त्यसमा विश्वास गर्छ, उसका लागि मेरो कुरा मन नपर्नु स्वभाविक हो ।
बसको डी गामाले र बोलम्बसले युरोपेलिका लागि भारत र अमेरिका खोज गरेका हुन् । त्यो खोज्न मानवजातिका लागि कुनै सुखद विषय थिएन । साच्चिकै भन्ने हो भने ती क्षणहरू भारतीय, अमेरिकन र अफ्रिकेलीहरूका लागि सबैभन्दा क्रूर, दुःखदायी र अस्तित्वलाई समाप्त गर्नेहरूका लागि प्रवेश द्वार थिए । त्यसपछिका सताब्दिहरूमा ‘खोज गरिएका नयाँ मुलुकहरूले’ सधैं अपमान, दुख, निर्धनता र मानवीय विनाश वा जातीय संहार खेप्नु पर्यो । आजको मितिमा पनि अफ्रिकेली र भारतीयहरू युरोपेलिका (राज्य संचालकहरू) मानसिक दास छौँ भने अस्ट्रेलिया, अमेरिका र क्यानाडाको मौलिकता आजको मितिमा पनि मौन बलत्कारको शिकार बनिरहेको छ । रेड–इन्डियन र माओरीहरूको मानौं ती मूलक नै होइन ! गोराहरूको हिटलरसाही अधुनिजता र विकासले अध्यारो पारिएको छ ।
आज पनि नेपाली र भारतीय पाठ्य पुस्तकहरूमा डी गामा र कोलम्बसले क्रमशः भारत र अमेरिका पत्तो लगाएको कुरा बालबालिकाले पढ्नुपर्छ । के यी दुई व्यक्तिहरू नजन्मेको भए भारतवर्ष, चीन र अमेरिकाको अस्तित्व नै हुने थिएन ? मेरो प्रश्न यहींबाट आरम्भ हुन्छ । मानव सभ्यताको सम्पूर्ण इतिहास र अस्तित्व युरोपेलीले स्थापित गरेका हुन् त ? अँ, मैले लेख्दै थिएँ ‘युरोप र अमेरिकाको भौतिक विकास देखेर मेरो मन धेरै कुडियो । यो विकासमा भारत, चीन, हालको अमेरिकाबाट अन्याय पूर्वक, तेहाका आदिवासीहरूको सामूहिक कत्लेआम गरेर लुटेको सम्पत्तिको जग छ भने त्यो जगचाहिं अफ्रिकाबाट पशुझैं ‘दास–दासी’ बनाएर ओसारेका कालाजातिका मान्छेहरूको रगत लत्पतिएको छ ।
यदि साच्चिकै युरोपेलीहरू मानवसभ्यता र मानवताको पक्षमा छन् भने लुटको सम्पत्तिमा कालाजातिका मान्छेको रगतले लत्पतिएको विकासका चिन्हहरू नष्ट गरेर युरोपको निर्माण आफ्नै शक्तिमा गरेर देखाउनुपर्छ । सत्य हो कि सबै युरोपेलीहरू दोषी छैनन् तर ती निर्दोषहरूको चर्चा हुँदैन । युरोपेली र अमेरिकीसंग बङ्गालमा भयानक अकाल पर्दा पनि त्यहाँका जनतालाई मर्न दिएर लुटेको धन र मान्छे होइन पशु ठानेर अफिकाबाट जवर्जस्ती बन्धक बनाएर दासका रुपमा बेचेर रगतको श्रम नहुँदो हो त उनीहरूले बैज्ञानिक खोज गर्न सक्ने कुनै प्रश्न नै थिएन । लुटेको धन र निर्दोष दासहरूको रगतको थुप्रोमा गरिका बैज्ञानिक अनुसन्धानहरूको जस कुनै पनि युरोपेली बैज्ञानिकहरूले कालाजाति र भारतीय जनतालाई दिएको पढ्नु भएको छ ? उल्टो, बाइबलको छाडी देखाएर युरोपेली माइण्ड–सेटप्रति बफादार बन्न प्रेरित गरिन्छ ।
आज युरोपले हिटलरको नामसँग घृणा गर्छ । हिटलरले असंख्य यहुदीहरूको हत्या गरेको थियो । तर १४९८पछिका दिनहरूमा अफ्रिका, भारतवर्ष, अमेरिका तथा चीनमा पुगेर असंख्य युरोपेली हिटलरहरूले मानवीय विनाश गरेको इतिहास खै ? तिनै हिटलरहरूले लेखिदिएको ‘खोज’को इतिहास पढ्ने म आफैले आफुलाई क्षामा गर्नु नपर्ने होइन र ? हिटलरले यहुदीहरूको हत्या गरेर नकाम गरे तर बाइबल बोकेर भारतको गोवाना गरिएको जेनेसाइड, हालको युएसए तर विगतको अमेरिकामा गरिएका अनेकौं जेनेसाइड, अस्ट्रलियामा माओरीहरुको विनास के हिटलरको अत्याचार भन्दा कम थियो ? आज तिनै बाइबलका मतियारहरू ‘बाइबल र त्यसका ईश्वरलाई स्वीकार गर, नेपाली पनि युरोपझैं सम्पन्न हुने छ’ भन्दै जनतालाई इसाई बन्न प्रेरित गरिरेहका छन् ! दासप्रथाको सबैभन्दा ठूलो समर्थक र निर्दोष महिलाहरूलाई विचक्राफ्टका नाममा हत्या गर्नेहरूले के ती अपराधका लागि क्षमा मागेका छन् ?
क्यानाडा, ब्राजिल, अस्ट्रेलिया, आजको युएसए र भारतवर्षका अनेकौं आदिवासीहरूनै आमहत्याका कारणले लोप भएका होइनन् र ? अनि, युरोपको भौतिक विकास होस् वा अन्य सम्पन्नता एउटा प्राचीन इतिहास भएको र कुनै पनि देश वा जनताउपर कलोनी नगरेको नेपालजस्ता देशहरुका लागि कसरी उदाहरणीय हुन सक्छ ? आजको उन्नत समयमा इतिहासका पानाहरू खुल्दै छन् – युरोपेलीहरूले इसाई धर्म लादेका हुन् र धर्मका नाममा नै कलोनीको सम्पत्ति लुटेर आफ्नो देश बनाएका हुन् ।
धेरैले भन्नु होला–आजको युरोपेली जनसंख्यालाई दोष किन दिनु ? के आजका युरोपेलीहरूले आफ्नो दुष्टतापूर्ण इतिहासका लागि क्षमा मागेका छन् ? के अस्ट्रेलिया र अमेरिका वा क्यानाडाका युरोप मूलका गोराहरूको मानसिकता स्थानीयप्रति परिवर्तित भएको छ ? अहँ, कत्ति छैन । त्यहाँका जनता र कलोनीका रूपमा लुटिएका देशहरूका लागि मानवतावाद, समानता, लोकतन्त्र, मानवाधिकारजस्ता लाच्छेदार शब्दहरू रचिएका छन् र ती शब्दहरूले लुटिएको सम्पत्तिमा काला ‘दासदासी’को रगतमा उभिएको युरोपेली माइण्ड–सेटको विकासलाई प्रतिमान मान्दै स्तुति आराधना गर्न अभिप्रेरित गरिएको छ ।
आजका युरोपेलीप्रति मेरो थोरैमात्र गुनासो छ तर मेरो गुनासो त मेरोजस्तो छाला भएका, नेपाली वा भारतीय नागरिकता भएका तर माइण्ड–सेटचाहिं युरोपेली भएकाहरूप्रति छ । उनीहरू आजको मितिमा पनि युरोपेली–अमेरिकी विकास, स्वतंत्रता र जीवनशैलीको वकालत गर्छन् । भारत, र नेपालजस्ता देशहरू आफैं निर्धन भएका होइनन्, सयौंवर्ष अगाडी ‘भारतको पत्तो हामीले लगाएका हौँ र भारत वा नेपाली हाम्रो निजी सम्पदा हो’ भन्दै यहाको मौलिक उद्योग र सिस्टमहरू नष्ट परेर धनसम्पत्तिको धारा आफ्नुतिर फर्काएका कारणले भएका हौँ । मैले भन्नु नपर्ला युरो, पाउण्ड र डलर किन बलियो छ, नेपाली रुपैया किन कम्जोर छ ? यसको उत्तर खोजे भैहाल्छ ।
युरोप र युरोपेली मूलले कब्जायेका देशहरूको उन्नति देखिन्छ तर उन्नतिका क्रममा उनीहरूले गरेका नरसंहार, अन्याय र हिटलरपना देखिन्न । उनीहरूले आफ्नो अन्यायपूर्ण इतिहास बडो चलाखीपूर्ण तरिकाले लुकाएका छन् । अफ्रिकाबाट युरोप र अमेरिकाका लागि व्यापार गरिएका काला मानिसहरूको रगत, भारत, अमेरिका, अफ्रिकाजस्ता देशहरूको अपार सम्पदा र श्रमको अन्यायपूर्ण जगमा उभिएको युरोपेली अमेरिकी विकासलाई प्रतिमान मान्ने भारतीय, अमेरिकी, अफ्रिकी राष्ट्रहरू सधैं अस्थिर, निर्धन र अन्यायपूर्ण अवस्थामा छन् । किनभने अन्यायपूर्ण इतिहासका जगमा उभिएको युरोपेली प्रतिमानको विकासको अनुकरण वा अनुसरणनै अन्यायपूर्ण छ । दुष्टतापूर्ण साधन प्रयोग गरेर उन्नतिको साध्य प्राप्त गर्न सकिन्न ।
समय बदलिएको छ, आवश्यकता बदलिएका छन् तर युरोपले खोजेको इतिहासबाट सिक्ने र उनको विकासलाई पच्छ्याएमात्र विकसित हुन सकिन्छ भने माइण्ड–सेटको मनोरोगका कारण हामी विरामी छौँ । अविकसित छौं र अर्काको कोट लगाएर हिँड्ने मगन्ते सावित भएका छौँ । धर्मका मामिलामा होस् वा आर्थिक क्षेत्रमा हामी अन्यायपूर्ण इतिहासकारका इतिहासलाई पत्याउन्दासम्म उन्नति देख्न, भोग्न सक्ने छैनौं । सुन्न र देख्न त संचारमाध्यमले सजिलो बनाएको छ । जनतामा ‘युरोपेली र अमेरिकी विकास’को महत्वकांक्षा जगाइदिने तर युरोपेली प्रतिमानको लागि साधन जुटाउन नसक्नुको कारणले नेपालजस्ता देशका सरकारहरू सधैं अस्थिर नै रहने पक्का छ ।

प्रतिक्रिया