काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले नेपाल प्रहरीलाई साधन स्रोतले भरिपूर्ण बनाउने काम गृह मन्त्रालयको प्रमुख प्राथमिकतामा रहेको बताएका छन् ।
शुक्रबार ७० औँ प्रहरी दिवसको अवसरमा आयोजित अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण कार्यक्रममा गृहमन्त्री अर्यालले समाजका हरेक घटनामा प्रहरीले नै पहिला काम गर्ने र कानून कार्यान्वयनमा प्रहरी नै अग्रपङ्क्तिमा रहने भएका कारण हरेक कुरामा प्रहरी निसानामा पर्ने गरेको बताए ।
उनले प्रहरीलाई आवश्यक स्रोत, साधन उपलब्ध गराउने काम सरकारको प्राथमिकतामा रहेको बताए ।
उनले नेपाल प्रहरी संगठनलाई पर्याप्त स्रोत साधन उपलब्ध नभएमा फागुन २१ गतेको चुनाव प्रभावित हुने कुरामा गृह मन्त्रालय र वर्तमान सरकार सचेत रहेको भन्दै यसको लागि कामहरु गर्ने बताए ।
उनले भने, ‘जेनजी आन्दोलनमा भएको क्षतिले प्रहरी मात्र होइन आमनागरिकहरुको जीवनमा समेत प्रभाव परेको छ । न्यून स्रोत साधनबाट कार्य गर्दै आएको प्रहरीलाई आन्दोलनले निकै ठूलो क्षति पुर्याएको छ । आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन शान्ति सुरक्षामा गराउनुपर्ने दायित्व पनि प्रहरीमाथि छ । शान्ति सुरक्षाको लागि महत्वपूर्ण जिम्मेवारी लिएको नेपाल प्रहरी संगठनलाई प्रयाप्त स्रोत साधन उपलब्ध नभएमा कार्य सम्पादन प्रभावित हुने कुरामा गृह मन्त्रालय र वर्तमान सरकार सचेत रहेको छ ।’
गत भदौ २३ र २४ गतेको विरोध प्रदर्शन र आन्दोलनमा पनि नेपाल प्रहरीका तीन जना कर्मचारीले ज्यान गुमाएका थिए । प्रहरीका सांगठनिक र निजी सामानहरु पनि लुटपाट र आगजनी भएको थियो ।

प्रतिक्रिया