एमाले पार्टीका मित्रहरुलाई पत्र


प्रिय एमालेजन मित्रहरु,
हुन त तपाईहरुलाई कसैको सुभेच्छाको आवश्यकता नहोला, किन कि तपाईंहरुभन्दा जान्ने सुन्ने, यो देशमा बुद्धि विचार धन बल भएको अरु कोही छैन भन्नेहरुलाई कोही कुनै निम्छरो जनताको आवाज वा सुझावले के माखो मार्ला र ? तर पनि यो देशको नागरिक भएको र यो देशको एउटा दरबिलो पार्टी पटकपटक पथभ्रष्ट हुँदा र त्यसका कार्यकर्ताहरु जो हाम्रा पनि समाजिक अवस्थाले मित्र, छिमेकी, त कतै नलनातो समेत पर्ने हुँदा आज तपाइँहरुलाई सानो पत्र लेख्ने प्रयास गरेको छु । सधैं झैं कतै फोटो काटेर पोष्ट्याए झैं, त कतै यो जाबोले के जानेको छ र भनेर वा यसको पत्रमा के नै छ र भनेर नहुत्याइकन शान्त चित्तले एकपटक पढ्नु होला । आज देश इतिहास मै सबैभन्दा कमजोर र गम्भीर अवस्थामा छ । भोलि के हुन्छ यसै भन्न नसकिने अवस्था छ । विगत तीन तीन दशकदेखि राजगरी आउनु भएका तपाइँ एमालेजनहरु भने आफ्नै रागले चाउरिनुपर्ने अवस्थामा हुनुहुन्छ । यो तपाइँहरु सँगसँगै देशको लागि पनि सुखद समय होइन ।

तपाईंहरुको पार्टीको अवस्था पनि खासै ठिक छैन । हुन त तपाईंहरुलाई लाग्ला क्याडेट बेस पार्टी, देशैभरी इकाई तहदेखि मठमन्दिर, सेना पुलिस, विद्यालय विश्वविद्यालय, शिक्षक कर्मचारी, संवैधानिक आयोग नियोगदेखि अदालतसम्म संगठन र कार्यकर्ता भरेको भएको पार्टी कहाँ कसैले भन्दैमा संकटमा पर्छ र भन्ने ! यदि त्यो घमण्ड र अहंकार अझैपनि छ भने कृपया त्याग्नुस् ।

हेर्नुस त दुनियाँमा तपाईंको भन्दा अजय रहेका पार्टीहरु सिध्धिएको देख्नु सुन्नु भएको होला नि । सोभियतको कम्युनिस्ट पार्टी आज कहाँ छ ? भारतको इन्दिरा काङ्ग्रेस कहाँ छ ? विपी सिंहको पार्टी कहाँ छ ?पश्चिम बङ्गालमा ३३ वर्ष एकछत्र शासन गरेको माक्र्सवादी पार्टी कहाँ छ ? चीनको १९७२ अघिको माओको पार्टी कहाँ छ ?अरु पनि देशका बिभिन्न पार्टीहरु बनेका र सिद्धिएका उदाहरण थुप्रै छन् । तर तपाईंलाई थाहा हुनुपर्छ कि ती देशका जनता सक्किएका होइनन् । पार्टी सक्किए पनि जनता त छन् नि । तिनले ती पार्टीको विचार छोडे, तिनका नेताको अहंकार छोडे या आफुलाई समय सापेक्ष आफ्नो देशकाल परिस्थिति अनुकुल परिवर्तित भए ।

यसैले जनता कसैका दास होइनन् । कुनै अहंकारी शासक र प्रवृतिका दास पनि होइनन् । नेपाली जनता भनौं या एमालेका कार्यकर्ता र भोटर पनि पार्टीका दास पक्कै होइन र हुने छैनन् होला । तपाईंहरुले कहिल्यै सोच्नु भो ? पछि फर्केर कहिल्यै मूल्यांकन गर्नु भो ? कि एमालेले आफूलाई कसले कहिले र कसरी यस्तो अहंकारी बनायो ? यो अवस्थामा कसरी ल्याइ पुर्याइयो ?नसोंचेको भए सोच्नुस् । आफ्नो विगततिर पनि फर्केर हेर्नुस् । सम्झनुस त तपाईंको तत्कालीन महासचिव माधव कुमार नेपाललाई जब मदन भण्डारी पछि उनको चरित्र कस्तो बनेको थियो । सम्झिनुस त तिनको उपप्रधानमन्त्रीकाललाई ! अनि मनमोहन अधिकारीलाई बाइपास गरेको पनि सम्झिनुस् त । आइएनजिओलाई नेपालका हरेक निकायमा खुल्लम खुल्ला प्रवेश दिएर तपाईं इमानदार र पार्टीका वफादार कार्यकर्तालाई आइएनजिओको कलोमा टिक्ने र बिक्ने परजिवी बनाएको पनि सम्झिनुस त ! अनि आज त्यही आइएनजिओले एमाले मात्रै होइन देश नै सिध्याउन लागेको पनि सम्झिनुस् है ।

देशमा राजा रहँदैमा कुनै फरक नपर्ने तर पार्टी र कार्यकर्ताको चरित्र ठिक ठिक रहनुपर्छ भन्ने मदन भण्डारीको नीति विपरीत तपाईंहरु परिचालित हुनु भो ! तपाईंको माथिल्लो नेताले जस्तोसुकै गलत बाटो लिँदा पनि सधैं ‘मेरो पार्टी, मेरो नेता, मैपनि एमाले सैं पनि एमाले, हामी सबै त्यही गर्छौं जे भन्छन् पार्टीका बाले’ भन्दै दौडिनु भो । याद गर्नुस् त तपाइँहरुले मदनको नीति छोड्नु भो काँङ्ग्रेसले विपीको नीति अनि गरिखान र भ्रम छर्न भने तिनै नेताको नाम चाहिरहने ? कस्तो बैमानी त यो ?

देशका मठ मन्दिर, सहकारी, बैंक, विद्यालय विश्वविद्यालय देखि छाउगोठसम्म, कर्मचारीतन्त्र देखि अख्तियार, अदालत र सबै संवैधानिक आयोग नियोग निकायसम्म पार्टीकरण गरेर तपाईं आम जनतालाई, तपाईंको प्रवृतिमा प्रश्न उठाउने जोसुकैलाई खुइल्याउन लाग्नु भो, सम्झिनुस् त मित्रहरु । तपाइँ माथिका तपाइँका नेताले जे जे गरेपनि ठिक तर जनताले आवाज उठाउँदा बेठिक कसरी भयो ? किन भयो ? ठेक्कापट्टादेखि कब्जा तपाईंको पार्टीको भए सबै चङ्गा नभए बौद्धिक दङ्गा किन ?जसको नतिजा तपाईंहरु आज आफूलाई एमालेको भनेर गर्वका साथ भन्न लजाउनुपर्ने अवस्थामा पुग्नु भएको छ । कि कहिँ कतै अझैपनि त्यस्तो लाग्दैन र ? सम्झनुस् त ।

हुन त तीन दशकको अहंकार यति छिटै मर्दैन त्यसमा तपाईंको दोष भएन । तर ….
तपाईंहरु बेलैमा सुध्रेको भए, एमाले इतरका पनि जनता हुन तिनको पनि इज्जत छ डिग्निटी छ, मेरो काममा चित्त बुझ्दा भोट त दिन्छ भन्ने लागेको भए, पार्टी र नेता भन्दा देश सर्वोपरि हो भन्ने लागेको भए, सक्षम व्यक्ति ठिक ठिक ठाउँको उत्तराधिकारी हुनुपर्छ भन्ने लागेको भए, सायद तपाईहरुले आज यसरी मुख लुकाउन अवश्य पर्ने थिएन । तपाइँको पार्टीको छाप लागेपछि सर्वविज्ञ, सर्वज्ञानी, बुद्धिजिवी भन्ने तपाइँहरुको न्यारेटिभले देश यो अवस्थामा र तपाइँहरुको यो अवस्था आएको होइन र ?
अहिले तपाईंहरुलाई इतिहासले अन्तिम र एकपटक फेरि नेपाल सापेक्ष हुने र राजनितिक पुनर्जीवन दिने मौका दिएको छ । यो अवसर नगुमाउनुस मित्रहरु ।

हामी जस्ता भुइँमान्छेको प्रश्न र सुझावलाई पनि कुनै न कुनै कुनामा बसेर मनन गर्नुस । बुझ्नुस कम्युनिस्ट भनेको कुनै अलौकिल शक्ति हुँदै होइन । माक्र्स लेनिन भनेका कुनै देवदूत वा साक्षात भगवान् र सृष्टिकर्ता होइनन् । नेपाल र नेपालीको लागि माखाको पित्तजत्ति पनि ती विदेशीहरुको योगदान छैन र नेपालको लागि केही हुँदो गरेका व्यक्ति पनि होइनन् । अनि यस्तालाई बोकेर, त्यसैलाई सलाम ठोकेर, त्यसैको माला जपेर कुँद्नुको अर्थ र औचित्य के रहेछ त्यो पनि एकाग्र चित्त भएर विचार गर्नुस् त ।
तपाइँले आफ्नो पुर्खालाई गाली गर्न सिकाउनु भयो । नेपालको लागि मर्नेहरुलाई भन्दा अर्कैको देशको भलो गर्नेहरुको फोटो बोकेर कुँद्नु भयो । नेपालको मौलिकता मासेर विदेशीको जयजयकार गर्न लाग्नुभयो । तपाइँले कुनै आइएनजिओको भलो, विदेश भ्रमण, छात्रवृत्ति या यस्तै केही पाउनु भएहोला तर देशले के पायो ? त्यो सम्झनुस् त ।

मदन भण्डारी उदाउनु भन्दा पहिल्यै भारतमा चुनावबाटै सत्तामा पुगेको माक्र्सवादी र भाकपा हुँदा नेपालमा कम्युनिस्टले चुनाव लड्दैन भन्थे, संसद भनेको खसीको टाउको झुण्ड्याएर कुकुरको मासु बेच्ने थलो भन्थे । सत्ता बन्दुकको नालबाट मात्रै निस्किन्छ भन्थे र त्यो कतै न कतै आजपर्यन्त पनि चलाउने प्रयास छ ।

हिजो मदन भण्डारीले कम्युनिस्टले चुनाव लडेर संसदमा जान र सत्ताभोग गर्न हुन्छ भन्ने जबज ल्याउँदा संसारकै नमूना विचार भन्ने तपाईंहरुले अब अर्को नयाँ विचार भन्दा के फरक पर्छ र ? तपाइँहरुलाई अझैपनि कम्युनिस्ट भन्ने शब्दसङ्ग निकै प्रेम हो छोड्नै नसकिने हो भने बोक्नुस् तर पार्टीको नाम ‘नेपाल कम्युनिस्ट पार्टी, नेपालवादी राख्नुस्, वा नेपाल कम्यूनिष्ट पार्टी, नेपालसापेक्षतावाद’ राखेर जानुस् । यसको मार्गदशक सिद्धान्तमा पृथ्वीपथ राख्नुस् । आर्दश व्यक्ति पृथ्वीनारायण शाह, राजा महेन्द्र र मदन भण्डारी राख्नुस् । यो देशको निर्माणमा नेतृत्वदायी भूमिका खेल्ने बडामहाराज पृथ्वीनारायण शाहको नीतिलाई आफ्नो नीति बनाउनुस्, देशको सार्वभौमिकता र अस्मिता जोगाउने राजपुरुष राजा महेन्द्रलाई सम्मान गर्नुस् । आइएनजिओको कलो खान र त्यसको गुणगान गाउन छोडेर त्यस्ता आइएनजिओ जो नेपाल र नेपाली अस्मिता विरुद्धमा छन् तिनलाई नेपालमा प्रतिबन्ध गर्न लाग्नुस । आफ्ना कार्यकर्तालाई आइएनजिओमुक्त बनाउनुस् ।

देशलाई उखानटुक्का र तुच्छ बेतुकी भाषणले होइन देशको माटोको, आफ्ना सन्तानको कसम खाएर इमान्दार भएर चलाउने काम गर्नुस् । देश र समाजका हरेक अंग प्रत्यङ्गमा छिराएको पार्टीको तुस निकालेर फाल्नुस् । तपाइँलाई प्रश्न गर्नेहरु पनि यो देशको बारेमा चिन्ता गर्ने व्यक्ति हुन र यिनका कुरा पनि सुन्नुपर्छ भन्ने बानी बसाल्नुस् । याद राख्नुस् तपाइँको आलोचना गर्ने वा तपाइँलाई प्रश्न गर्ने सबैजना तपाइँका शत्रु हुँदैनन् । शुभेच्छु पनि हुनसक्छन् । देशको कुनै दह्रो पार्टी डगमगाएको र ट्रयाक बाहिर हिँडेको हेर्न नचाहने जनता पनि हुनसक्छन् । तपाइँको एमाले बाहेक अरु नदेख्ने, अरुलाई मान्छे नै नगन्ने चश्मा फेर्नुस् ।
त्यसपछि अनि मात्र तपाईँको पार्टीको शुद्धीकरण र मुक्तिकरणमा लाग्नुस् । अनि तपाईं आफ्नै जीवनकालमा र तपाईंको आउने पुस्तासम्म पनि तपाईंको बुद्धि र विवेकको गर्वका साथ मनन गर्ने बन्नुहुनेछ । तपाईंहरुले २०५१ साल र त्यस यता पटकपटक गरेका गल्तीहरु सुधारेर देशको मुल बाटोमा फर्किनु हुनेछ भन्ने निम्छरो आशा र अपेक्षा सहित !

तपाईंहरुले कहिल्यै मित्र नमानेको मित्र,

मित्रलाल सापकोटा
बाँके ।