हाम्रा गौचरण खोइ ?


-डा. गोविन्द एस उपाध्याय ।

नेपालको संविधानले गाई र गौवंशलाई राष्ट्रिय धरोहरू घोषित गरेको छ । ८२% वैदिक सनातन धर्म मान्ने नागरिक भएको देशमा गौवंशलाई राष्ट्रीय धरोहर घोषित गराउन निकै सङ्घर्ष गर्नुपरेको थियो । संविधानले गौवंशलाई राष्ट्रिय–सम्पदा घोषणा गरे पनि सरकारहरू, दलहरू, प्रदेश तथा स्थानीय सरकारहरूले गौवंशको संरक्षणका लागि खासै काम गरेका छैनन् । हिन्दू सनातनीको पहिचान प्रणव, वेद, गौ तथा वर्णाश्रम व्यवस्था हुन् । हिन्दूहरूको कुनै पनि धार्मिक तथा सांस्कृतिक क्रियामा गौ (गाई) अनिवार्य हुन्छ । वैदिकहरूका जन्मदेखि मृत्युसम्मका संस्कारहरूमा गाई अनिवार्य हुन्छ । यसै दवावका कारण संबिधानमा गौवंशलाई राष्ट्रिय धरोहर त घोषणा गरियो तर व्यावहारिक रूपमा सरकार र जनता दूवैले गौवंशको महत्व स्वीकार गर्न सकेनन् । जोजसले गौवंशको महत्व स्वीकार गरेर गौशालाहरू स्थापना गरे, उनीहरूले सरकार र सर्वसाधारणबाट सहयोग प्राप्त गर्न सकिरहेका छैनन् ।

हाम्रा पूर्वजहरूले मेरो गाउँमा गौचरण क्षेत्र प्रष्टसँग छुट्याएका छन् । पातलको सम्म क्षेत्र र त्यससँग जोडिएको ठूलो क्षेत्र गौचरणकै लागि भनेर छुट्याएका थिए । आज यिनै गौचरण क्षेत्रको अतिक्रमण गरेर तथाकथित सरकारी विकासका कामको प्रयोजनका लागि अनेकौं थरी बिलिंगहरू बनिरहेका छन् । हाम्रा पूर्वजहरूले सनातन धर्मको जगका रूपमा स्थापित गौवंशको सनातन महत्व बुझेर नै गौचरण क्षेत्र निर्धारण गरेका थिए ।

नेपाली संविधानले गौलाई राष्ट्रिय धरोहरका रूपमा स्वीकार त गर्यो यसको सुरक्षा र सम्बद्र्धनका लागि कुनै नीति नियम तय गरेन । गाईले घाँसनै खान्छ किनभने घाँस उसको भोजन हो । सरकारले गाईलाई सम्पदा घोषणा गरेपछि गाईलाई जोगाउन, संरक्षण गर्न ‘घाँस’को पनि व्यवस्था हुनु अनिवार्य हुन्छ भन्ने तत्थ्य स्वीकार गरेको छैन । उल्टो, केन्द्रीय, प्रदेश र स्थानीयतह सबै मिलेर पूर्वजहरूले गौवंशको लागि चर्न छुट्याएका चौर, पाखा तथा वारीहरूलाई आफ्नो पेवा ठानेर अतिक्रमण गरिरहेको छ ।
सरकारले नै गौचरणमा अतिक्रमण गरेको ज्वलन्त उदाहरण हालको त्रिभुवन विमानस्थल हो र दोश्रो रङ्गशालाका रूपमा प्रयोग हुँदै आएको सानो गौचरण हो । पूर्खाले सनातन धर्मको रक्षाका खातिर नून–बेसार छरेर चरणक्षेत्रका रूपमा छोडेका चरणहरूमा अतिक्रमण गरेर सरकारले नै गौवंशको विनाशमा सहयोग गरिरहेको छ । सत्यले पोल्छ तर सत्य त सत्य नै हुन्छ । ठूलो गौचरण होस् वा सानो गौचरण सरकारले ती गौचरणहरूको वदलामा चरणक्षेत्र दिएको छैन । यो गौवंश विरुद्ध सरकारी हस्तक्षेप होइन र ?

म नेपालका धेरै जिल्लाहरू घुमेको छु । पहाडतराई जतासुकै हाम्रा पूर्वजहरूले नून, सुनपानी तथा गङ्गाजल छोएर “गौचरण“ क्षेत्र राखेका थिए । मैले सुनेअनुसार बाग्लुंगस्थित बलेवाको (हाल बन्द भएको विमानस्थल) सम्पूर्ण जग्गा एकजना गुरुदत्त आचार्य नामका व्यक्तिले आफ्नो निजी वारीलाई तामा, तुलसी र शालीग्राम हातमा लिएर गौचरणको (अनन्तकालसम्म गाई चराउने प्रयोजनका लागि) दान गरेका थिए । सरकार होस् वा स्थानीय दूवैले ती आचार्यको दान मास्न मिल्दैन । यदि त्यो क्षेत्र पुनः गौचरणका लागि उपयोग गर्ने हो भने स्थानीयहरूले स्थानीय जातका गाईहरू पाल्ने निश्चित छ ।

हाम्रो गाउँको गौचरणको इतिहास फरक छ । तत्कालीन पराजुलीहरूले आपसमा मिलेर नै अहिलेको गौचरण क्षेत्र छुट्याएका थिए रे । गौचरनको जग्गामा कर नलाग्ने हुँदा त्यसमा बरपिपल रोप्ने, मन्दिर पाटी, धारा इत्यादि निर्माण गर्ने गरिन्थ्यो । आज पनि पातल (बाच्छाट) सहित दुईवटा वडाको जलाधार, सामाजिक संस्कार, मन्दिर र मिलनको क्षेत्र बनेको छ । आजभोली जनताहरू गाईपालनप्रति उदासीन बनेपछि यो गौचरन ‘बाख्राचरण’मा रुपान्तरित भएको छ भने यही चरणक्षेत्रमा अनेकौं सरकारीस्तरबाट निर्माणहुने भवनहरू बनेका छन् ।

मुख्य र चुरो कुराः संविधानले गौवंशलाई ‘राष्ट्रिय–सम्पदा’ (गाईलाई राष्ट्रिय पशु भन्नु उचित होइन, यस्तो शब्दका ठाउँमा सम्पदा वा धरोहर शब्दको प्रयोग उचित हुन्छ) भनेर विशिष्ट दर्जा दिएपछि राष्ट्रले नै गाईको लागि आवश्यक घाँसको व्यवस्थापनतिर ध्यान पनि दिनुपर्छ । यसको लागि हरेक स्थानीय सरकारहरूले हाम्रा पूर्वजहरूले गौचरण भनेर छुट्याएका क्षेत्रहरूको पहिचान गर्नुपर्छ र अन्य अतिक्रमहरूबाट मुक्त गरेर गौचरणको क्षेत्रका रुपमा पुनःस्थापित गर्नु पर्छ । दोश्रो, सरकारले नै व्यक्तिहरूलाई गौचरण क्षेत्र छोड्न, दान गर्न प्रेरित गर्नुपर्छ भने खालिरहेका सार्वजनिक जग्गाहरूबाट केही क्षेत्रलाई ‘गौचरन’का रूपमा प्रयोग गर्ने नीति बनाउनु पर्छ । साथै, गौपालन (स्थानीय गाईमात्र) गर्ने कृषकहरूलाई केही अतिरिक्त सुविधाहरू दिंदा गौपालन सहज हुन्छ ।

पूर्वजहरूले गौचरणका लागि छुट्याएका गौचरणहरू देशभरी छन् । स्थानीय जनताले ती चरणस्थलहरूको पहिचान गर्नुपर्छ र त्यसको श्रेस्ता खोज्दै कायम गर्नुपर्छ । स्थानीय सरकारहरूले सहयोग गर्नुपर्छ । संविधानले गाईलाई राष्ट्रिय सम्पदाको रूपमा स्वीकार गरेको अवस्थामा देशका सम्पूर्ण नागरिकहरूको कानुनी दयिय्व गौरक्षा गर्नु हुन्छ भने वैदिक सनातनीको त मौलिक कर्तव्य नै गौरक्षा सुनिश्चित गर्नु हुन्छ । त्यसैले देशभरिका गौचरण क्षेत्रहरू खोजौं । स्थानीय गाईहरूको संरक्षण गर्न पहल गरौँ र अन्य पशु पाल्दा गाई पनि पाल्न अग्रसर बनौं । साथै, स्थानीयतहमा गौरक्षा, गौपलन गर्न अग्रसर अगुवाहरूलाई तनमन, धनले सहयोग गरौँ । वैदिक सनातनीहरूले बुझ्नुपर्छ कि हाम्रो विश्वासअनुसार मृत्युपछि बैतरणी तर्न पनि गाईकै आवश्यकता पर्ने छ ।
मैले दशैंका दिन मूल ढोकामा जमरा र टीको लगाउने प्रयोजनका लागि लोकल गाईको गोवर खोज्न निकै परिश्रम गर्नु परेको स्मरण गर्न चाहन्छु । पण्डितजीहरूलाई पनि अनुरोध छः गौदानका लागि सम्बन्धित परिवार वा पारिवारिक जनले पालन गरेको गौनै महत्वपूर्ण हुने सूचना दिनु होस् । एउटा गाईको बाच्छी दश रुपैयामा बेचेर (निग्रह दिएर) पुनःपुनः दान गर्ने कर्मप्रति विचार गरौँ । दान गर्न गाईनै चाहिनेलाई गाईका बाच्छीहरूलाई बोझ नठानौं । तपाईंको बाल्टीमा धेरै दूध दिन नसके पनि गाईले मृत्युपछि स्वर्ग अवश्य दिने छन् – विश्वास र श्रद्धा गरौँ । गौवंशको सुरक्षा, प्रवद्र्धन तथा आफ्नो आध्यात्मिक कल्याणको लागि पनि स्थानीय गौचरण क्षेत्र खोजौं ।