विपिन जोशीलाई सकुशल मुक्त गराउन कहॉ चुक्यौं हामी ?


-सुरेश आचार्य

१) महत्वको तथ्य, हाम्रो राज्य नै कमजोर भयो ।

२) हमाससँग नेपालको प्रत्यक्ष सम्पर्क नरहे पनि नेपाल र नेपाली प्रति उसले कुनै बैरभाव राखेको थिएन । यस अवस्थामा हमासको गतिविधीलाई नेपालले आतंककारी भनिहाल्न जरूरी थिएन । कूटनीतिमा हरेक शव्द र बोलीको मात्र होइन मौनता र ‘बडि ल्यांग्वेज’को पनि अर्थ लाग्छ, लगाइन्छ भनी हाम्रो पहिलो विज्ञप्तिमा हेक्का राखिएन ।

३) हमाससँग नेपालले मित्रवत् सदभावका साथ मानवीयताका आधारमा आफ्नो निर्दोष नागरिकलाई मुक्त गरिदिन सोझै सम्माननीय राष्ट्रपतिले प्रोटोकल छोडेर हमासका पोलिटिकल ब्यूरो चीफलाई पत्राचार वा अपिल गर्नु पर्थ्यो । हमासको आन्तरिक राजनीतिक मिसनलाई हामीले समर्थन नगरिकनै पनि हमासप्रति सम्मानभाव राख्न सकिन्थ्यो ।

४) बिगत २ वर्षमा नेपालले आधिकारिक रूपमा हमासलाई विपिनको मुक्तिका लागि नेपाल सरकारले प्रत्यक्ष आफैं आग्रह नगर्नू पनि ठूलो गल्ती थियो । इजरायलले पनि नेपाललाई आफ्नो ढंगले हमाससँग पहल गर्नमा कुनै अवरोध गरेको थिएन । मेरो जानकारीमा रहेसम्म इजरायलले कूटनीतिक भाषामा आफैं पहल गर्नुस् भनेकै हो । तर हामीले इजरायलको कूटनीतिक भाषा नै बुझेनौं ।

५) छिमेकी देश चीन र भारतको हमाससँग राम्रै सम्पर्क रहेकोमा हामीले छिमेकीहरूको ‘सफ्ट पावर’ प्रति कुनै ध्यान दिएनौं । चीनमार्फत कुरा अघि बढाएको भए, नेपालको कूटनीति सफलतामा टुंगिन सक्थ्यो ।

६) हाम्रा देशका नेता र अधिकारीहरूले मध्यस्थ (mediator) को पछि लागेर समय खेर फाले, यही पनि नराम्ररी चुक्यौं हामी । सोझै, हमासका अधिकारी र प्राज्ञसम्म पुग्न सकिन्थ्यो ।

७) हाम्रो परराष्ट्रमन्त्रीले लेवनान, सिरिया वा इजिप्ट पुगेर प्रयास गरेको भए अर्थपूर्ण हुन्थ्यो ।

८) तर जे नहुनू भइ नै सक्यो, दूर्भाग्य भयो । आगामी दिनमा यस्ता समस्या परेमा यस्ता बहस काम लाग्न सक्ला !