हवाना । क्युबाका असन्तुष्ट नेता जोसे ड्यानियल फेररलाई सोमबार जेलमुक्त गरी विमानमा अमेरिका पठाइएको छ ।
क्युवाको प्रजातन्त्र समर्थक आन्दोलनको लामो समयसम्म नेताका रूपमा कैयौँ पटक जेल परेका फेररले यसै महिना जेलमा ‘यातना’ र ‘अपमान’ भोगेको भन्दै निर्वासनको विकल्प रोजेको घोषणा गरेका थिए।
जेलबाट एक पत्रमा ५५ वर्षीय फेररले भने, “पूर्व अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको सम्झौताअन्तर्गत केही समयका लागि रिहा भएपनि अप्रिलमा पुनः जेल परेपछि म विरूद्ध ‘तानाशाहीको क्रुरता’को कुनै सीमा छैन।’
उनले जेलमा ‘आक्रमण, यातना, अपमान, धम्की र चरम अवस्था’ लाई उल्लेख गर्दै जेलमा रहँदा ‘शासनका अनुयायी’हरूले तोकेका ‘खाना र स्वच्छ उत्पादनहरू’ समेत चोरी’ हुनेगरेको बताए ।
फेररले आफ्नी श्रीमतीलाई पनि जेल हाल्ने र आफ्नो सानो छोरालाई बाल अपराधीहरूको संस्थामा पठाउने धम्कीका कारण आफूले देश छोड्ने निर्णय गरेको बताए ।
हवानास्थित विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै फेरर र उनका परिवारका सदस्यहरू सोमबार अमेरिकी सरकारको औपचारिक अनुरोध र असन्तुष्टको स्पष्ट स्वीकृतिपछि देश छाडेर अमेरिका प्रस्थान गरेको उल्लेख गरेको छ ।

प्रतिक्रिया