गोविन्द एस उपाध्याय ।
प्रशासन तन्त्र कमजोर हुँदा राष्ट्रिय र अन्तराष्ट्रिय अपराधिहरू शक्तिशाली हुन्छन् । अहिले नेपाल नामको राष्ट्रको शासन व्यवस्था सबैभन्दा कमजोर अवस्थामा छ । देशमा प्रसाशनको अनुहार मानिने प्रहरी पूर्णतया आत्मविश्वास रहित भएको अवस्थामा छन् । देशका सबै राजकीय र निजी संघसंस्थाहरू, व्यापारिक घरानाहरू चरम अवसादको अवस्थामा छन् । सत्य जे हो, त्यही हुन्छ । यो लेखावटलाई ‘निरासावादीको ट्याग’ दिंदैमा सत्य बदलिन्न । सत्य यही हो कि आज देशको हरेक नागरिक मानसिक त्रास र अनिश्चयको वन्दी बनेको छ । विद्यार्थीलाई पढ्ने जाँगर छैन । उद्योगपतिलाई उद्योगमा लगानी गर्ने जाँगर छैन । शिक्षक/शिक्षिकाहरूले देशको कस्तो इतिहास पढाउने भनेर बुझ्न सकेका छैनन् ।
तथाकथित जेनजीहरूले प्रदर्शन र आन्दोलन गर्दैगर्दा आन्दोलनको शक्ति र प्रभावको व्यवस्थापन गर्न सकेनन् । उनीहरूले आँकेको आन्दोलन र व्यबहारमा देखिएको आन्दोलनमा व्यापक फरक देखियो । जेनजीले आन्दोलनको घोषणा त गरे तर त्यसको व्यवस्थापनको अनुभव नहुँदा देशले ठूलो क्षति बेहोर्नुपरेको छ । आन्दोलनको व्यवस्थापनको मामिलामा जेनजीहरूलाई शून्य नम्बर दिनुपर्छ । जेनजी रिसाउलान्, जेनजीको आन्दोलनको अपमान होला भन्ने डरले सत्यको घाँटी रेट्न सकिन्न । आन्दोलनको व्यवस्थापनमा जेनजीहरू ‘भोइलर कुखुरा’ सावित भएकै हुन् । देशमा भएको अकल्पनीय विध्वंसको दोष जेनजीले स्वीकार गर्नुपर्छ किनभने उनीहरूले आन्दोलनको स्वरूपको भविष्यलाई बुझ्न सकेनन् ।
पुराना राजनैतिक दलहरू आफ्नो असफलता स्वीकार गर्न चाहिरहेका छैनन् । कार्यक्रताहरूमा अझैं पनि “सर्वदलीय संयन्त्र“को आशा छ । कार्यक्रताहरूमा ‘भागबण्डा’को संस्कृति फर्किने कुरामा आश मरेको छैन । नेताहरू आफ्ना कार्यक्रताहरूलाई चल्दै आएको ‘भागबण्डा’ संस्कृति नष्ट नहुने कुरामा विश्वास दिलाउन चाहन्छन् । पुराना दलहरूले जेनजीको अस्तित्वलाई स्वीकार गरेका छन् तर जेनजीहरू आफूभन्दा सक्षम छन् भन्ने कुरामा विश्वास गर्न सकिरहेका छैनन् । फेरि, पार्टीले पार्टीको भातृ संगठनका रूप्म्मा जेनजीहरूको अस्तिवत्व निर्माण गर्दैछन् । यसले जेनजी र जेनजीका बीचमा द्वन्द्व मचिने संकेत बलियो हुँदैछ ।
यी सबैका विचमा एउटा कुरा स्थापित भएको छः राजनैतिक भागबण्डाबाट शक्तिमा पुगेकाहरूको आत्मबल खस्किएको छ । भागबण्डामा न्यायाधीश बनेका, सचिव बनेका, खरदार बनेका, राजदुत बनेका, प्राध्यापक बनेका, पत्रकार बनेका, वकिल बनेका, वर्गीय संगठनका नेता बनेकाहरू नराम्रोसँग तर्सेका छन् तर हार्न वा आत्मआलोचना गर्न तयार छैनन् । उनीहरूका लागि ‘भागबण्डा’ भन्दा स्वर्णकाल अर्को हुनैसक्दैन । जेनजीको आन्दोलनलाई निस्तेज पार्दै भागवण्डाले शक्ति प्राप्त गरेकाहरूले पुनः भागबण्डाको राजनीति ल्याउने प्रयत्नमा मिलोमतो गरे भने आश्चर्य मान्न पर्दैन । भोलि भागबण्डाको बलमा न्यायाधीश पड्काएकाहरूले ‘संविधानअनुसार पुरानो संसद स्थापित गरेर’ नेताहरुले लगाएको गुण तिरे भने अचम्म मान्नु पर्ने छैन । भागबण्डाको स्वाद र धर्मनै यस्तै हुन्छ ।
उमेरले ४० काटेका र सत्ताको स्वादमा रमाएका ३० वर्षेहरू स्वतः पुरानो सत्ताका साथमा उभिने सम्भावना बढी छ । साथै, पुरानो सत्ताको भागबण्डामा परेर शक्तिमा रहेका व्यक्तिहरूले पनि पुरानो सत्ताको ऋणतिर्न पुरानो सत्ताकै पक्षमा उभिने निश्चित नै छ । तर जेनजी र जेनजीलाई माया गर्नेहरू कमसेकम पुराना पार्टीका शीर्षहरू र भ्रष्ट्राचारको भागबण्डा पुनर्जीवित होस् भन्ने चाहन्नन् । जेनजीहरू अनुभवहीन अवश्य छन् तर बुद्धि र विवेकहीन छैनन् । राम्रो शासन र नराम्रो शासनका विचमा भेद न छुट्याउन सक्ने छैनन् । सदाचारी र दुराचारीका विचको अन्तर नबुझ्ने छैनन् । न्याय र अन्यायका विचको भेद राम्ररी बुझेका छन् । साथै, जेनजीहरूले विगतका सरकारको प्रधानमन्त्री, मन्त्री तथा मुख्यमन्त्री र स्थानीयसरकारका प्रमुखहरू सरकार प्रमुख होइन भ्रष्ट्राचारीका प्रमुख हुन् भन्ने कुरा पनि राम्ररी बुझेका छन् । लोकतन्त्र, प्रजातन्त्र जस्ता शब्दहरूलाई जेलेर ’झ्याली गर्ने“हरूलाई पनि राम्ररी चिनेका छन् । पुरानाहरू आफुहरू भ्रष्टाचारीको नाइके भएको मान्न तयार छैनन् भने जेनजीहरू पुरानाहरूलाई भ्रष्ट्राचारीका नेता भन्दा अर्को रूपमा स्वीकार्ने पक्षमा छैनन् ।
जेनजीका भावनाका विरुद्ध पुरानो सत्ता आफ्नो अस्तित्व जोगाउन जेनजीसँग गृहयुद्ध लड्न र ‘भागबण्डा’ संस्कृति जगेर्ना गर्न सङ्कल्पित देखिन्छ । राज्यसत्ता पुरानो ‘भागबण्डा’ संस्कृतिबाट निर्मित भएको हुँदा जेनजीका पक्षमा भन्दा पुरानो सत्ताका पक्षमा उभिंदा फाइदामा रहने निश्चित छ । जेनजीका साथमा उभिनुको अर्थ हो खाइपाई आएको सुविधा खोसिनु वा त्यसमा असर पर्नु । अहिलेको सबै भन्दा ठूलो दुर्घटना नै पुरानो सत्ताले निर्माण गरेको स्थायी राज्यसत्ता र राजनैतिक शक्तिका रूपमा सत्तामा रहेका तर अहिले जेनजीले फालेका पार्टीहरूका बीचमा साँठगाँठले नित्याउने छ । लोकतन्त्र, प्रजातन्त्रजस्ता शब्दहरू फेरि पनि पुरानोसत्ताको सन्दर्भमा प्रयोग हुने छन् र तिनको ‘भागबण्डा’ जोगाउन प्रयोग गरिने छन् । मूलतः यो दुरुपयोग नै हो । अहिलेको राज्यव्यवस्थाले ‘युद्धमा तम्सिएका’ भागबण्डा संस्कृतिका निर्माता र सम्बाहक विरुद्ध कठोरता पूर्वक शक्तिको प्रयोग गरेन भने नेपाली समाजमा ‘विद्रोह’ एउटा संस्कृतिको रूपमा विकसित हुने छ । यसको अर्थ, पुराना मान्छे, पार्टीहरू सबै खराव छन् भनेर बुझ्नु अतिवाद हुने छ ।
जेनजी आन्दोलनपछिको शासन एकदम अशक्त, निर्णयविहीन, निराशाले भरिपूर्ण र आत्मनिर्णय गर्ने समर्थ नभएको अनुभूत हुँदैछ । यस्तो अवस्थामा देश–विदेशका नकारात्मक शक्तिहरूले खेल्ने प्रयत्न गर्ने छन् । हरेक व्यक्तिउपर नियोजितरूपमा ;मिडिया ट्रायल’ गरेर अविश्वासका बीजहरू रोपिने छन् । हरेक मान्छेमा खरावीमात्र खोज्ने र रोप्ने प्रयत्न गरिने छ । अहिले भएको यस्तै छ । प्रधानमन्त्री, मन्त्रिमण्डलका सदस्यहरू र मन्त्रीका लागि छलफलमा रहेका व्यक्तिहरू विरुद्ध र समर्थनमा भाषिक, जातीय तथा क्षेत्रीय द्वन्दका बिजहरू रोपिंदै छन् । असल र कमसलको भेद देख्न, बुझ्न र पर्गेल्न गाह्रो हुनेछ । अहिले यस्तै भइरहेको छ । प्रधानमन्त्री सुशीला कार्कीले कठोरता पूर्वक निर्णय गर्नु पर्ने विषयमा चुनावपछिको सरकारलाई कुर्ने नियति लिंदा देश कमजोर हुने छ भने अराजक र भागबण्डावादीहरू बलियो हुने छन् ।
लोकतन्त्रप्रति जवाफदेही हुनु पर्ने शक्तिहरूनै हिजो जवाफदेही हुन नचाहेकोले जेनजीको आन्दोलन भएको हो । यो अन्तरिम सरकारले निरंकुशतापूर्वक भविष्यको लोकतान्त्रिक पद्धतिको जग बसाल्न भ्रष्ट्राचार र भागबण्डा संस्कृतिको अन्त्य गर्न सशक्त निर्णय गर्नुपर्छ । यदि निरङ्कुश निर्णयले भविष्यको प्रजातन्त्र बलियो हुन्छ भने, अलोकतान्त्रिक हुँदैन । सिस्टम नमान्ने लोकतन्त्र भन्दा सिस्टम मान्ने राजतन्त्र धेरै राम्रो हुन्छ भन्ने उदाहरण बेलायत, डेनमार्क, जापान, क्यानाडाआदि देश हुन् । यसको अर्थ, राजतन्त्र फर्काउनु पर्छ भन्ने पनि होइन । राजतन्त्र कि प्रजातन्त्र ? यसको निर्णय जनताले नै गर्नुपर्छ । जेनजी आन्दोलनपछि कमसेकम लोकतन्त्र, प्रजातन्त्रका नाममा ‘नेता व्यस्थापनका लागि भागबण्डा’ गर्ने चलनको अन्त्य हुनैपर्छ ।
यदि वर्तमान आन्तरीम सरकारले निरंकुशतापूर्वक ‘नेता व्यस्थापनका लागि भागबण्डा’का विरुद्ध कठोर निर्णय गर्दै अगाडी बढ्यौ भने भविष्यको लोकतन्त्रले साच्चिकै प्रजातान्त्रिक सिस्टमको थालनी गर्ने छ र नेपालको मनोबल उच्च हुनेछ । विश्वले नेपाललाई पुनः विश्वास गर्न थाल्ने छन् । अन्त्यमा, राज्य कमजोर हुँदा भित्रीया र बाहिरिया दुवैले हेप्छन् । तेसैले अराजकता विरुद्ध राज्यले शक्ति प्रयोग गर्नेपर्छ । कानुन सबैका लागि समान हुन्छ भने अनुभूति सरकारले दिन सक्नुपर्छ । देशको धर्म, संस्कृति र आत्मविश्वासलाई जोगाउन सक्नुपर्छ ।

प्रतिक्रिया