इजरायलले आक्रमण रोक्यो, गाजावासीहरू फर्कन थाले घर


जेरुसेलम । इजरायलले युद्धविराम घोषणा गर्दै शुक्रबार गाजामा सेना फिर्ता गर्न सुरु गरेसँगै हजारौँ विस्थापित प्यालेस्टाइनीहरू आफ्नो घर फर्कन थालेका छन् । दुई वर्षको क्रूर युद्धपछि गाजामा रहेका इजरायलका बाँकी बन्धकहरूका परिवारहरूमा पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेको युद्धविराम कायम हुने आशा जागेको छ ।

इजरायली सेनाले युद्धविराम सम्झौता र बन्धकहरूको फिर्तीको तयारीका लागि स्थानीय समयअनुसार मध्यान्हमा सैन्य कारबाही बन्द गरेको बताएको छ ।

इजरायलले सैन्य कारबाही बन्द गरेको घोषणा गरेको तीन घण्टापछि अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले ट्रम्पको शान्ति योजनामा इजरायलले फिर्ता हुने पहिलो चरणको काम पूरा भएको पुष्टि गरेको थियो । इजरायली सेनाले अझै पनि प्यालेस्टाइनको ५३ प्रतिशत भू–भाग कब्जा गरेको छ ।

इजरायली सेनाको फिर्तीसँगै हमासलाई गाजामा रहेका बाँकी बन्धकहरूलाई रिहा गर्न ७२ घण्टाको समयसीमा तय भएको छ ।

यसैबीच, इजरायलले रिहा गर्ने योजना बनाइएका ७ अक्टुबर २०२३ पछि पक्राउ परेका २५० सहित एक हजार ७०० प्यालेस्टाइनी कैदीहरूको सूची प्रकाशित गरेको छ ।

युद्धविराम सुरु भएपछि दुई वर्षको भिषण बमबारीपछि संयुक्त राष्ट्रसंघले चेतावनी दिएको अनिकालको अवस्थाबीच थकित प्यालेस्टाइनीहरूको लामो लहर दक्षिणी शहर खान युनिसबाट उत्तरमा आफ्ना भत्केका घरहरूतर्फ यात्रा सुरु गरेका छन् ।

गाजा र इजिप्टबीचको राफा सीमामा रहेको युरोपेली संघको मिसनले आगामी १४ अक्टोबरदेखि पैदल यात्री मार्ग पुनः खोल्ने भएको इटालीले जनाएको छ ।

युद्धविराम सम्झौताअनुसार हमासले दुई वर्षअघि भएको आक्रमणका क्रममा अपहरणमा परेका २५१ जनामध्ये अझै पनि बन्धक बनाइएका ४७ जना जीवित र मृत व्यक्तिलाई हस्तान्तरण गर्नेछ भने सन् २०१४ देखि गाजामा बन्धक बनाइएका थप एक व्यक्तिको अवशेष पनि फिर्ता हुने अपेक्षा गरिएको छ ।