श्रीनगर । भारतले अफगानिस्तानमा आफ्नो प्राविधिक मिसनलाई पूर्ण दूतावासमा स्तरोन्नति गर्ने निर्णय गरेको छ । यो निर्णयले तालिबानसँगको सम्बन्धमा नयाँ अध्याय खोल्ने सङ्केत गरेको छ ।
भारतीय विदेशमन्त्री सुब्रह्मण्यम जयशङ्करले शुक्रबार नयाँदिल्लीमा अफगानिस्तानका विदेशमन्त्री अमिर खान मुत्ताकीसँगको भेटपछि यो घोषणा गरेका हुन् ।
सन् २०२१ मा अमेरिकाको दुई दशक लामो सैन्य उपस्थितिपछि तालिबानले सत्ता कब्जा गरेयता भारत र अफगानिस्तानबीचको यो पहिलो उच्चस्तरीय कूटनीतिक संवाद हो ।
विदेशमन्त्री जयशङ्करले अफगानिस्तानको विकासका लागि भारतको निरन्तर प्रतिबद्धता दोहोर्याउँदै व्यापार, स्वास्थ्य र शिक्षा जस्ता क्षेत्रमा सहयोग विस्तार गर्ने आश्वासन दिए ।
संयुक्त राष्ट्रसङ्घको प्रतिबन्ध सूचीमा रहेका अफगान तालिबान नेतामध्ये एक मुत्ताकी संयुक्त राष्ट्र सुरक्षा परिषद्को समितिबाट अस्थायी यात्रा अनुमति पाएपछि बिहीबार नयाँदिल्ली आइपुगेका थिए ।
यो भ्रमण रुसमा आयोजित अफगानिस्तानसम्बन्धी अन्तर्राष्ट्रिय बैठकमा सहभागी भएपछि भएको हो । उक्त बैठकमा चीन, भारत, पाकिस्तान, इरान, कजाकिस्तान, किर्गिस्तान, ताजिकिस्तान र उज्बेकिस्तानका प्रतिनिधिहरू उपस्थित थिए ।
भारत र तालिबानबीचको यो कूटनीतिक नजिकिँदो सम्बन्ध विगतको वैरभावलाई पछाडि पार्दै आएको हो । तालिबान अन्तर्राष्ट्रिय मान्यता खोज्दै गर्दा भारतले अफगानिस्तानमा चीन र पाकिस्तानको प्रभाव सन्तुलन गर्ने रणनीतिक अवसर देखेको छ ।
विदेश सचिव विक्रम मिस्रीले यसअघि जनवरीमा दुबईमा मुत्ताकीसँग भेट गर्नुभएको थियो । त्यसपछि मुत्ताकी र जयशङ्करबीच टेलिफोन वार्ता भएको थियो । साथै, भारतका अफगानिस्तानसम्बन्धी विशेष दूतले अप्रिलमा काबुल पुगेर राजनीतिक तथा व्यापारिक सहकार्यबारे छलफल गरेका थिए ।

प्रतिक्रिया