विगतका भूललाई सच्याओस् कांग्रेसले


-जनकराज पाठक ।

यदाकदा भन्ने गरिन्छ प्रजातन्त्रमा व्यक्ति गौण हुन्छन् यद्दपी नेतृत्व तहमा रहेको व्यक्तिको आचरण, चरित्र र चिन्तनले ठूलो महत्त्व राख्छ, दललाई कस्ता चरित्रका कस्ता नेताहरुले नेतृत्व गरेका छन् यो मुख्य विषय हो । प्रसंगः पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरवाहादुर देउवाको । २०४६ सलको राजनीतिक परिवर्तन पछि ०५१ देखि ०५६ को अवधिमा सबैभन्दा बढी सत्ताको लागि घृणित खेल खेल्ने व्यक्ति देउवा हुन् । नेपालको प्रजातान्त्रिक प्रक्रियामा सासंद खरिदबिक्रीदेखि सुरा सुन्दरीसम्मको प्रचलन त्यहीबेला भित्रियो । सत्ता टिकाउनको निमित्त देशभित्र मात्र हैन,विदेशमा समेत सासंद लुकाएर चर्चामा आयका पात्र हुन् देउवा । मुलुकमा अपांगलाई टेक्ने वैशाखी दिन नसक्ने सरकारले तत्कालीन सत्ता टिकाउन सबै सांसादलाई पजेरो सुविधा दिएको थियो।

विषेशत त्यो कालखण्डमा मध्यमार्गी धारको रुपमा स्थापित हुन खोजेको राप्रपा सत्ता र सुविधाको यही गोलचक्करमा फसेर ध्वस्त भयो । राप्रपालाई पटक,पटक प्रयोग गरियो । राप्रपाले आफू प्रयोग भइरहेको थाहा नै पाएन । एउटा मध्यमार्गी धारको रुपमा स्थापित दललाई कमजोर र ध्वस्त बनाउँदा मुलुक राजनीतिक अस्थिरतातर्फ धकेलियो । फलस्वरूप सिङ्गो व्यवस्था माथिनै संकट आयो र माओवादीको उदय भयो ।

सर्वहारा वर्गको नाममा गरिएको माओवादी जनयुद्ध व्यक्ति हत्यामा रुपान्तरण भयो । दशौं हजुर नेपाली, राजनीति प्रतिशोधका करण मारिए । विकास निर्माणका संरचनाहरु ध्वस्त भए । तत्कालीन देउवा सरकारले क.प्रचण्डको टाउकोको मोल तोक्दै माओवादी पार्टीलाई आतंककारीको सूचीमा राख्यो । राजनीतिक रुपमा माओवादी युद्धमा सबैभन्दा बढी क्षति सायद कांग्रेसलाई भयो । तर सत्ता स्वार्थको निमित्त देउवाले सबै विर्सिए । सिद्धान्तको लिलाममा सत्ता खोज्दै पुनः देउवाले तिनै माओवादीसँग गठबन्धन गरे ।

राजनीतिक अस्थिरताको फाइदा उठाउँदै माओवादीले आफ्नो उद्देश्य माथि विजय प्राप्त गरेर कांग्रेसलाई आफ्नो मार्गचित्रमा हिँडायो अर्थात् कांग्रेस प्रचण्डीकरण भयो । कांग्रेसले भागबन्डा, पैसा र सत्ताबाहेक केही देखेन । प्रचण्डबाट बैतरणी तर्ने कसरतमा लागिरह्यो । हिजो बिनाकारण माओवादीले हत्या गरेका, अंगभंग पारेका, वेपत्ता पारेका, सम्पत्ति हरण गरेका कुनै कार्यकर्ताको अनुहारको सम्झना समेत गरेनन् देउवाले ।

भागवन्डा र भ्रष्टाचार संस्थागत गर्दै देउवाले माओवादीसँग अप्राकृतिक गठवन्धन केवल मुलुक लुट्नको निमित्त गरे । लोकतन्त्रको नाममा गठित कांग्रेस गठबन्धनको नाममा माओवादीको गोलचक्कर र भूमरीमा फस्दै गयो । प्रजातान्त्रिक व्यवस्था र सिद्धान्तसँग कुनै सम्बन्ध नराख्ने प्रचण्ड देउवाका राजनीतिक गुरु बने । अप्राकृतिक गठबन्धनको जोड, घटाउ र आन्तरिक प्रतिस्पर्धाको कारण मुलुक अस्थिरतातर्फ धकेलियो । देउवाले कांग्रेस वा प्रजातन्त्र सम्झिएनन् । प्रजातन्त्रको निमित्त एकरत्ती योगदान नभएका र प्रजातान्त्रिक आचरण समेत नभएका प्रचण्डको दलसँग चुनावी गठवन्धन समेत गरेर देउवाले माओवादीलाई भोट मात्रै मागेनन् तमाम कांग्रेसीलाई भोट माग्न र भोट हाल्न बाध्य पारे कठै देउवा !

भागबण्डामा सत्ता चल्दै थियोे हठाथ प्रचण्ड सरकार हटाएर पुनः भागबन्डा र भ्रष्टाचारलाई संस्थागत गर्न ओलीतिर लागे देउवा । रातभरीमा सरकार बन्ने र ढाल्ने कार्यमा देउवा सक्रिय रहे अर्थात् ओली र प्रचण्डले पटक पटक कांग्रेसलाई प्रयोग गरे कांग्रेसले विगतमा राप्रपाले झैं पटक–पटक प्रयोग भइरहेको पत्तै पाएन । फलस्वरूप प्रजातन्त्रको निमित्त वर्षौंदेखि लडिआएको कांग्रेस आज यो हालतमा पुग्यो भने देउवा अनुहार देखाउन लाएक रहेनन् । आज देउवासँग न सत्ता छ, न कांग्रेस छ । आफ्नै दल भित्र उनलाई शरणार्थी झैं व्यवहार गरिँदैछ ।

कांग्रेसले गम्भीर भूल र गल्ती गरेकै हो । अब कांग्रेसले गल्ती र भूल स्वीकार्दै कहाँबाट बाटो विराएको हो त्यहीँ फर्कनु उपयुुक्त हुनेछ। सबैले मान्ने गरेको प्रजातान्त्रिक आन्दोलनमा उचाइ प्रप्त गरेका आफ्नो पार्टीको नेता बिपी कोइरालालाई मनैदेखि सम्झने दिन आएको छ । व्यक्तिगत रुपमा आफूले राजसंस्थाको कारण धेरै दुःख पाएपनि वृहत नेपाली राष्ट्रिय हितको निमित्त किन उनले जीवनभर राजसंस्थाको पक्षमा वकालत गरे ? कांग्रेसले विर्सन हुँदैन । आजको कांग्रेसी पिँढिले सम्झना गरोस् । प्रजातन्त्रको नाममा कम्युनिष्टसँगको सहकार्य र एकताले आज कांग्रेस कहाँ पुगेको छ विचार गर्ने कि नगर्ने ? इतिहास सधै भविष्यको मार्गदर्शन भएर रहन्छ । यो सत्यलाई आत्मसात गर्दै प्रजातन्त्र बचाउन र मुलुकलाई निकास दिन कांग्रेसले पुराना रिस,राग,कुन्ठा त्यागेर राष्ट्र प्रमुखमा राजसंस्था रहने गरि बृहत् छलफलको सुरु गरेर राजसंस्था स्थापनामा अगाडि बढे मुलुकमा प्रजातन्त्र पनि कायम रहन्छ र पुनः कांग्रेसको राजनीतिक उदय हुनेछ अन्यथा रामनाम…….