शुक्रबारसम्म बिपी राजमार्ग संचालनमा ल्याउन मन्त्री घिसिङको निर्देशन


काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङको नेतृत्वमा मन्त्रालयका सचिव केशव शर्मा, सडक विभागका महानिर्देशक विजय जैसीसहितको टोलीले हालैको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गका विभिन्न खण्डको बिहीबार अनुगमन गरेको छ ।

बाढीले क्षतिग्रस्त राजमार्गको करिब चार किलोमिटर खण्डमा अस्थायी ‘डाइभर्सन’ बनाएर सडक सञ्चालनको तयारीका क्रममा मन्त्री घिसिङ नेतृत्वको टोली अनुगमनमा निस्केको हो ।

मन्त्री घिसिङले कार्यक्षेत्रमा खटिका सडक विभागका इञ्जिनियर र निर्माण व्यवसायीलाई सङ्घीय राजधानी काठमाडौँसँग वाग्मती, मधेस र कोशी प्रदेशका जिल्लाहरुलाई जोड्ने ‘लाइफ लाइन’ का रुपमा रहेको यो सडकलाई जतिसक्दो चाँडो सञ्चालन हुनेगरी काम गर्न आग्रह गरेका छन् ।

मन्त्री घिसिङले शुक्रबार साँझसम्म सडकको अस्थायी ट्रयाक तयार गर्न निर्देशन दिए । संघीय राजधानी काठमाडौँलाई पूर्वी नेपालसँग जोड्ने बीपी राजमार्ग चाडपर्वको बेला बन्द हुँदा यात्रीले सास्ती पाउँदै आएका छन्।

गत वर्षको बाढीले राजमार्गको भकुण्डे—नेपालथोक खण्डमा क्षति भएको थियो । उक्त खण्डमा अस्थायी डाइभर्सन निर्माण गरी सञ्चालन गरिएकामा हालैको बाढीले करिब चार किलोमिटर पुनः बगाएको छ ।

गत वर्षको बाढीबाट क्षतिग्रस्त सडक स्थायी रुपमा निर्माण गर्न केही खण्डको ठेक्का लागिसकेको छभने कही खण्डको ठेक्का प्रक्रिया अन्तिम चरणमा रहेको मन्त्री घिसिङको निजी सचिवालयले जनाएको छ ।