लन्डनस्थित ‘होली काउ फाइन इन्डियन फुड’ इंग्ल्याण्ड्स बिजनेस अवार्ड्स २०२५ का लागि मनोनित


लन्डन । झन्डै दुई दशकदेखि लन्डनमा नेपाली तथा भारतीय स्वादका परिकारका लागि परिचित ‘होली काउ फाइन इन्डियन फुड’ प्रतिष्ठित इंग्ल्याण्ड्स बिजनेस अवार्ड्स २०२५ का लागि मनोनित भएको छ।

बेलायतको सबैभन्दा पुरानो र सम्मानित व्यावसायिक सम्मानका रूपमा चिनिने यो अवार्डको सुरुआत आजभन्दा ७० वर्षअघि भएको हो। सन् १९६५ मा यस अवार्डलाई ‘क्विन्स अवार्ड्स फर इन्टरप्राइज’ नामले स्थापना गरिएको थियो भने सन् २०२२ पछि ब्रिटिश राजपरिवारले यसलाई ‘किंग्स अवार्ड्स फर इन्टरप्राइज’ नाम दिएको हो।

अवार्डका लागि मनोनयनमा परेका व्यवसायहरू मध्ये जनमतको आधारमा सबैभन्दा बढी भोट पाउने कम्पनीले यो प्रतिष्ठित सम्मान प्राप्त गर्नेछ। आयोजकका अनुसार, मतदाताले यही अक्टोबर १० (शुक्रबार) भित्र www.nominees.info/vote मा गई Holy Cow Fine Indian Food (Town/City: London) नामक कम्पनी रोजी भोट दिन सक्नेछन्। साथै, 07520 634133 नम्बरमा कम्पनीको नाम लेखी टेक्स्ट पठाएर पनि मतदान गर्न सकिने व्यवस्था गरिएको छ।

‘लन्डनजस्तो प्रतिस्पर्धात्मक विश्व शहरमा नेपाली–भारतीय स्वाद चिनाएर नेपालको पहिचान र प्रतिष्ठा अभिवृद्धि गर्ने हाम्रो निरन्तर प्रयास रहँदै आएको छ। त्यसैले सम्पूर्ण ग्राहक, शुभेच्छु र नेपाली समुदायबाट समर्थनको अपेक्षा राखेका छौं, होली काउ ग्रुपका अध्यक्ष कुल आचार्यले भने। उनका अनुसार भोट गर्न प्रक्रिया निकै सहज छ र एक मिनेटभित्रै सम्पन्न गर्न सकिन्छ।

आचार्यका भनाइमा, अनलाइन भोट बाहेक कम्पनीले तिरेको कर, रोजगारीको अवसर सृजना, र व्यवसायिक योगदानका आधारमा पनि मूल्याङ्कन गरिनेछ।

सबैभन्दा बढी भोट र अंक प्राप्त गर्ने व्यवसायहरुलाई अक्टोबर १२ का दिन रेडिङमा आयोजना हुने विशेष समारोहमा अवार्ड प्रदान गरिनेछ, आयोजकले जनाएका छन्।

नेपाली स्वाद र उद्यमशीलताको परिचायक बनेको ‘होली काउ फाइन इन्डियन फुड’को यो मनोनयनले विदेशमा नेपाली व्यवसायको सम्मान र पहिचान थप उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।