काठमाडौँ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले काठमाडौँ उपत्यकाका नदी खोला किनारका सडक (करिडर सडक)मा साँझ ६ः०० देखि बिहान ६ः०० बजेसम्म सवारी आवागमनमा रोक लगाउन आग्रह गरेको छ ।
प्राधिकरणले शनिबार सूचना जारी गर्दै काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा भारीदेखि अतिभारी वर्षा भइरहेको जनाउँदै करिडोर सडकमा आवागमन रोक लगाउन उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरेको हो ।
आज राति वर्षाको मात्रा अझै बढ्न गई नदी खोलामा पानीको तह थप बढ्ने एवं नदी खोला किनारका सडक डुबानमा परी जोखिम बढ्ने सम्भावना रहेको उल्लेख गर्दै प्राधिकरणले सतर्क रहन भनेको हो ।
‘सम्भावित जोखिम कम गर्न काठमाडौँ उपत्यकाका नदी खोला किनारका सडक (करिडर सडक) मा आज साँझ ६ः०० बजेदेखि भोलि बिहान ६ः०० बजेसम्म सवारी आवागमनमा आवश्यकतानुसार रोक लगाउनु हुन निर्णयानुसार अनुरोध ‘ प्राधिकरणद्वारा जारी सूचनामा उल्लेख छ ।


प्रतिक्रिया