बेइजिङ । चीनले आफ्नो अन्तर्राष्ट्रिय विभागको शीर्ष पदमा युरोपेली मामिलामा लामो अनुभव भएका कूटनीतिज्ञ लिउ हाइक्सिङलाई नियुक्त गरेको छ ।
उनले लिउ जियानचाओलाई प्रतिस्थापन गरेका हुन् । जियानचाओ अनुशासनात्मक कारणले हिरासतमा रहेको आशङ्काबीच गत जुलाईदेखि सार्वजनिक रूपमा देखिएका छैनन् ।
अन्तर्राष्ट्रिय विभाग चीनको कम्युनिस्ट पार्टीअन्तर्गतको कूटनीतिक शाखा हो, जसले अन्य देशका राजनीतिक दलहरूसँग सम्बन्ध विस्तार गर्ने जिम्मेवारी लिन्छ ।
६२ वर्षीय लिउ हाइक्सिङले आफ्नो कूटनीतिक जीवनको ठूलो हिस्सा युरोपमा विभिन्न पदमा बिताएका छन् । सन् २००९ देखि २०१२ सम्म उनी फ्रान्सस्थित चिनियाँ दूतावासमा मन्त्री थिए । त्यहीँ उनले सार्वजनिक प्रशासन पनि अध्ययन गरेका थिए ।
बेइजिङ फर्केपछि उनले सहायक विदेशमन्त्री र युरोपेली मामिला विभागका महानिर्देशकको रूपमा काम गरे । उनको पछिल्लो पद भने कम्युनिस्ट पार्टीको केन्द्रीय समितिअन्तर्गत राष्ट्रिय सुरक्षा आयोगको कार्यकारी उप–निर्देशकको थियो ।
यस नियुक्तिपछि उनका पूर्ववर्ती लिउ जियानचाओको अवस्थाबारे प्रश्नहरू उठेका छन् । असम्बन्धित रहेका जियानचाओले सन् २०२२ जुनदेखि विभागको नेतृत्व गर्दै आएका थिए र महामारीपछिको कूटनीतिक अभियानअन्तर्गत व्यापक विदेश भ्रमण गरेका थिए । उनी सम्भावित नयाँ विदेशमन्त्रीका रूपमा समेत चर्चामा थिए तर, जुलाई अन्त्यदेखि उनी सार्वजनिक रूपमा देखिएका छैनन् ।
वाल स्ट्रिट जर्नलका अनुसार उनी अनुशासनात्मक अनुसन्धानका क्रममा हिरासतमा परेका छन् । यसअघि पनि तत्कालीन विदेशमन्त्री किन ग्याङ सन् २०२३ जुनमा रहस्यमय रूपमा बेपत्ता भएका थिए । उनीपछि वाङ यीले पुनः पदभार सम्हालेका थिए । पार्टीको आन्तरिक अनुसन्धानले किन ग्याङ विवाहेतर सम्बन्धमा संलग्न भएको पत्ता लगाएको बताइएको छ ।
राष्ट्रपति सी जिनपिङले सन् २०१२ मा सत्तामा आएपछि अनुशासनात्मक शुद्धीकरण अभियानलाई कडा रूपमा अघि बढाएका छन् ।
अहिलेसम्म ६० लाखभन्दा बढी अधिकारीलाई भ्रष्टाचार वा दुव्र्यवहारका लागि कारबाही गरिएको छ । तर, आलोचकहरूले यसलाई सी जिनपिङले आफ्ना विरोधीहरू हटाउन र शक्ति सुदृढ गर्न प्रयोग गरेको आरोप लगाउँदै आएका छन् ।

प्रतिक्रिया