काठमाडौं । हालको मौसम विश्लेषण अनुसार नेपालमा मनसुन वायुको प्रभाव केही कमजोर रहेपनि दसैंपछि भने सक्रिय हुने भएको छ ।
बंगालको खाडीमा विकसित भएको न्यून चापिय प्रणाली भारतको ओरिसाबाट जमिनको भू-भागमा प्रवेश गरी मध्य भारततर्फ क्रमशः सर्ने भएको र सो न्यून चापिय प्रणालीको कारणले नेपालमा जलवाष्फ युक्त मनसुनी वायु प्रवेश गरी असोज १७ गते एकादशीका दिनबाट देशको खास गरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसम्म मनसुनी गतिविधि सक्रिय हुने सम्भावना देखिएको छ मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले असोज १७ गते एकादशीमा कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाड र तराई भूभागका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । साथै कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
त्यस्तै असोज १८ गते कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरू हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
असोज १९ गते कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षा र एक-दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यस बर्षको दशैंको अवधिभर मनसुनी वायुको प्रभाव रहि दशैंको अन्तमा मनसुन सक्रिय समेत हुने सम्भावना रहेकोले सम्भावित वर्षाको कारणले भू-क्षय, बाढी, पहिरोको साथै सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकोले मौसमको अध्यावधिक जानकारी लिई आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया