-सुवोधराज प्याकुरेल
पुरञ्जन आचार्यको शब्दमा, यो (विघटित) संसद आवारा संसद थियो । पछिल्लो उदाहरणमा कुलिङ पिरियड सहितको निजामती विधेयक संसदीय समितिद्वारा पारित आफ्नो पूर्ण सहमतिको प्रतिकूल संसदमा पेश हुँदा दुबै हात उठाएर सबैले पारित गरिसकेपछि मात्र थाहा पाए कि कुलिङ पिरियडको प्रावधान हटाइएको रहेछ । किन पारित गरे ? ह्विप त्यस्तै थियो रे । समितिका सभापति रामहरिले गल्ती स्वीकार गर्दै सभापति पदबाट राजीनामा गरे । तर उनलाई झन् महत्वपूर्ण संसदीय सुनुवाइ समितिको सभापति बनाइयो । आवारागर्दीको अर्को उदाहरण ।
कुलिङ पिरियड थप गरिदिन माथिल्लो सदनलाई आग्रह गर्ने निर्णय पनि गरे । तर माथिल्लो सदनमा रहेका ३ जना एमाले सांसद र सरकार (एमाले) द्वारा मनोनित १ जना समेत ४ जनाले उल्टो कुलिङ पिरियड राख्न नहुने भनी लिखित प्रस्ताव गरे । उनीहरुले भने, पार्टीको आदेश अनुसार गर्यौं । एमालेद्वारा थपिएको आवारागर्दी । अनि आजका नवयुवाले त्यस्तो आवारा संसदलाई तत्काल विघटन गर्ने माग नगरे के गर्छन् ?
२३ गते र २४ गतेको विभिषिका पछि सरकारले राजीनामा दियो । व्यवस्था उपर धावा नबोलियोस् भन्दै संविधानको रक्षाको लागि संसदबाटै समाधान खोजियोस् भनेर थुप्रै व्यक्तिले प्रयास गरिरहे । आन्दोलनकारी, राष्ट्रपति र सभामुखबीच त्रिपक्षीय सम्वादमार्फत सहमतिको मार्ग खोजी गर्ने प्रयास हुनुपर्ने बेलामा सभामुखको अत्तोपत्तो पाइएन वा देखिएन । कसले रोक्यो ? सेनाले ? कि डरले ? मन्त्रिमण्डलको शपथग्रहण समारोहमा नदेखिनु भएका सभामुख मन्त्रिमण्डल विस्तारको बेला भन्दा यता लगातार देखिएका छन् । त्यसैले हुन नहुने संसद विघटनको मुख्य कारक आवारा संसद र साझा व्यक्तित्व सावित गर्न असफल सभामुख तथा माथिल्लो सदनका अध्यक्ष हुन् । आफ्नो औचित्य आफैं सावित गर्न सक्नुपर्दछ ।

प्रतिक्रिया