भारतलाई एसिया कपको उपाधि


काठमाडौँ । भारतले पाकिस्तानलाई पाँच विकेटले पराजित गर्दै एसिया कपको उपाधि जितेको छ । कुलदीप यादवको उत्कृष्ट बलिङले पाकिस्तानको सम्पूर्ण टोली १९.१ ओभरमा १४६ रनमा अलआउट भयो । १४७ रनको लक्ष्य पछ्याउँदै भारतले १९.४ ओभरमा पाँच विकेट गुमाएर १५० रन बनाएर खेल जित्यो ।

तिलक वर्माले उत्कृष्ट पारी खेल्दै ५३ बलमा तीन चौका र चार छक्काको मद्दतले अविजित ६९ रन बनाए भने रिंकु सिंहले विजयी चौका प्रहार गरेर जित दिलाएका थिए । भारतका लागि शिभम दुवेले ३३, सन्जु सामसनले २४ र शुभमन गिलले १२ रन बनाएका थिए । त्यस्तै पाकिस्तानी बलर फहीम अशरफले ३ तथा शाहिन शाह अफ्रिदी र अब्रार अहमदले एक एक विकेट लिएका थिए । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको पाकिस्तानले १९.१ ओभरमा अल आउट हुदै १४६ रन बनाएको थियो ।

पाकिस्तानका लागि शाहीबजादा फरहानले सर्बाधिक ५७ रन बनाए भने फखर जमानले ४६ र सैम आयुबले १४ रन बनाए । त्यस्तै भारतीय बलर कुलदीप यादवले ४ विकेट लिए भने जसप्रित बुमराह, वरुण चक्रवर्ती र अक्सर पटेलले २–२ विकेट लिएका थिए ।

फाइनल खेलको म्यान अफ द म्याच भारतका तिलक बर्मा बने भने एशिया कपको उत्कृष्ट खेलाडी भारतका अभिषेक शर्मा बनेका छन् ।