तनहुँ। तनहुँको ऋषिङ गाउँपालिका–८ धारुङ गौरीगाउँस्थित दृष्टिविहीन सोलुमाया आलेलाई सहयोग जुटाएर ल्यापटप हस्तान्तरण गरिएको छ । जन्मजात दृष्टिविहीन आलेलाई अध्ययनमा सघाउने उद्देश्यसहित विभिन्न व्यक्तिबाट रकम जुटाएर ल्यापटप सहयोग गरिएको हो ।
‘दृष्टिविहीन सोलुमाया आलेका लागि ल्यापटप अभियान’ सञ्चालन गरी एक लाख ६५ हजार ९५० सङ्कलन भएको स्थानीय अगुवा इन्द्रबहादुर आलेले जानकारी दिए । डेढ महिनाअघि सुरु गरिएको अभियानका लागि ३२ जनाबाट रकम सङ्कलन भएको उनको भनाइ छ ।
सङ्कलित रकममध्ये ५४ हजार ५०० मा ल्यापटप खरिद गरिएको छ । बाँकी एक लाख ११ हजार ४५० मध्ये एक लाख आलेको खातामा जम्मा गरिएको छ भने ११ हजार ४५० नगद शनिबार निजको घरमा पुगेर ल्यापटपसहित हस्तान्तरण गरिएको छ ।
आले हाल पृथ्वीनारायण क्याम्पस पोखरामा बिएड दोस्रो वर्षमा अध्ययनरत छिन् । यस अभियानका लागि सबैभन्दा बढी रकम हाल अमेरिका निवासी प्राध्यापक बीके रानाले ५१ हजार ५५६ रुपैयाँ सहयोग गरेका छन् ।

प्रतिक्रिया