रामेछापमा आयुर्वेद तथा वैकल्पिक चिकित्सातर्फ आकर्षण बढ्दो


मन्थली (रामेछाप)। रामेछापमा आयुर्वेद तथा वैकल्पिक उपचारप्रति जनताको आकर्षण बढ्दै गएको छ । मन्थलीस्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा दैनिक उपचार लिन आउने सेवाग्राहीको संख्या विगतको तुलनामा उल्लेख्य वृद्धि भएको छ ।

पहिले मन्थली नगरपालिका–१ घारी खहरेको भाडाको घरबाट सञ्चालनमा रहेको चिकित्सालय हाल मन्थली अस्पतालको पुरानो भवनमा सारिएपछि सेवाग्राहीको पहुँच अझ सहज बनेको छ ।

चिकित्सालयका सूचना अधिकारी हरिनारायण महतोका अनुसार जिल्लामा हाल एक जिल्ला स्तरीय चिकित्सालयसहित छ वटा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा छन् । यसै आर्थिक वर्षभित्र दोरम्बा शैलुङ, लिखु तामाकोशी र उमाकुण्ड गाउँपालिकामा थप तीनवटा आरोग्य सेवा केन्द्र स्थापना हुने तयारी छ ।

चिकित्सालयले नियमित स्वास्थ्य परीक्षण, पूर्वकर्म सेवा, अकुपञ्चर, फिजियो थेरापी, शिरोधारा, योगलगायत उपचार उपलब्ध गराउँदै आएको छ । साथै, रगत, दिसा–पिसाब परीक्षण जस्ता प्रयोगशाला सेवा र पाइल्स तथा फिस्टुलाको निःशुल्क शल्यक्रिया उपलब्ध हुने भएकाले बिरामीको आकर्षण बढेको हो ।

“यहाँको उपचार प्रभावकारी र प्रायः निःशुल्क भएकाले जनताको भरोसा बढ्दै गएको छ,” मन्थली नगरपालिका–२ का स्थानीय कुङ्गलाल तामाङले बताए । उनले आमाको उपचारका क्रममा काठमाडौँमा धेरै खर्च भए पनि निको नभएको तर यहाँ कम खर्चमा राम्रो उपचार पाएको अनुभव सुनाए ।

व्यवस्थापन समितिका अध्यक्ष नवराज घिमिरेका अनुसार भाडाको घरमा दैनिक करिब ५० जना सेवाग्राही मात्र पुग्ने गरेका थिए भने हाल अस्पतालको भवनबाट दैनिक एक सयभन्दा बढी सेवाग्राही लाभान्वित भइरहेका छन् ।

स्वास्थ्य सेवा विस्तारलाई प्राथमिकतामा राख्दै योजना बनाउन सके रोग लाग्नै नदिने खालका प्रवर्द्धनात्मक सेवा अझ प्रभावकारी हुने स्थानीय बद्रीप्रसाद घिमिरेको भनाइ छ ।