काठमाडौं । जेनजी आन्दोलनपश्चात सुशीला कार्कीको नेतृत्वमा बनेको नयाँ सरकार विस्तारको काम भइरहेको छ। यस क्रममा समाजका लब्धप्रतिष्ठित व्यक्तित्वलाई मन्त्री बनाउने अभ्यासले जनताको ध्यान तानेको छ। विशेषगरी स्वास्थ्य मन्त्रालय कसलाई जिम्मा दिने भन्ने विषय अहिले प्रमुख बहस बनेको छ।
यसैबीच स्वास्थ्य मन्त्रीको सबल दावेदारका रूपमा प्रा. डा. रोहित प्रसाद यादवको नाम चर्चामा आएको छ। हाल उनी कोशी प्रदेशस्थित सर्जन सोसाइटी अफ नेपालका अध्यक्ष हुनुका साथै विराटनगरस्थित विराट मेडिकल कलेज सर्जरी विभागका प्रमुख समेत रहेका छन्। चिकित्सा क्षेत्रमै २५ वर्ष लामो अनुभव संगालेका यादवलाई योग्य र सक्षम विकल्पको रूपमा हेरिएको छ।
शैक्षिक र व्यावसायिक जीवनमा प्रा. डा. यादवले आफ्नो दक्षता प्रमाणित गरिसकेका छन् । विगतमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (BPKIHS) का कुलपति पदका लागि शीर्ष तीन उम्मेदवारमा पर्न सफल हुनु उनको क्षमताको प्रष्ट प्रमाण हो। स्वच्छ छवि, निर्विवाद व्यक्तित्व र जनताप्रतिको उत्तरदायी दृष्टिकोणले डा. यादवलाई स्वास्थ्य मन्त्रालयको नेतृत्वमा सहजै स्वीकार्य बनाएको छ।
जेनजी आन्दोलनलाई खुलेर समर्थन गर्ने व्यक्तित्वका रूपमा पनि यादवलाई युवापुस्ताले सकारात्मक दृष्टिले लिएको देखिन्छ। राजनीतिक प्रभावभन्दा बाहिर बसेर सेवामुखी भूमिकामा रहँदै आएका यादवले स्वास्थ्य क्षेत्रको सुधारका लागि दीर्घकालीन दृष्टिकोण प्रस्तुत गर्न सक्ने विश्वास गरिएको छ।
सरकार विस्तार प्रक्रियामा उनलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिने वा नदिने अन्तिम निर्णय अझै नआए पनि नाम चर्चामा आउनु नै जनस्तरमा उत्साहको विषय बनेको छ। धेरैका दृष्टिमा उनीजस्तो अनुभवी चिकित्सकले मन्त्रालयको नेतृत्व पाउने हो भने स्वास्थ्य सेवामा गुणात्मक सुधार सम्भव हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया