काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा सीटीईभीटीका अध्यक्ष महावीर पुनले विद्यार्थीको गुनासो सुन्ने शाखा स्थापना गर्न निर्देशन दिएका छन् ।
बिहीबारको बैठकमा उनले चार बुँदे निर्देशन दिएका हुन् । ‘सीटीईभीटी कार्यालयमा विद्यार्थी, अभिभावक र शिक्षकहरुको गुनासो सुन्ने र प्राप्त गुनासोको अभिलेखीकरण/सम्बोधन गर्ने शाखा तुरुन्त बनाउने र सञ्चालनमा ल्याउने निर्देशन दिएको छु,’ पुनले सामाजिक सञ्जालमा लेखेका छन् ।
पाठ्यक्रमलाई सुधार गरी नवप्रवर्तनलाई समावेश गर्न खाका तयार गरी असोज मसान्तभित्र पेस गर्नसमेत उनले निर्देशन दिएका छन् ।
एकीकृत क्यालेन्डर बनाउन र परीक्षाको परीक्षाफल ३ महिनाभित्र अनिवार्य रुपमा प्रकाशन गर्ने व्यवस्था गर्न पुनले निर्देशन दिएका हुन् ।
त्यस्तै २०६९ सालदेखि अहिलेसम्म सीटीईभीटीबाट प्राविधिक शिक्षालय सञ्चालन गर्न सम्बन्धनका लागि प्राप्त भएका आवेदनहरु छानबिन गर्न उनले भनेका छन् । छानबिन गरी असोज मसान्तभित्र प्रतिवेदन पेस गर्न र सम्बन्धन दिने/नदिने निर्णय गर्न उनले सीटीईभीटीलाई ताकेता गरेका हुन् ।

प्रतिक्रिया