जेनजी आन्दोलनका क्रममा व्यक्तिका घरमा देखिएको नगदसम्बन्धी छानबिन सुरू भइसकेको छः प्रधानमन्त्री कार्की


काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले संविधान संशोधन र शासकीय स्वरुप फेर्ने अधिकार अन्तरिम सरकारलाई नभएको बताएकी छन् । बिहीबार साँझ राष्ट्रका नाममा नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले आगामी निर्वाचनपछिको संसदबाट संविधान संशोधन गर्न सुझाव दिइन् ।

उनले त्यसका लागि निर्वाचनमा सहभागी हुन जेनजी पुस्तालगायत सबै सरोकारवालमा आग्रह गरिन् । उनले जेनजी आन्दोलनका क्रममा व्यक्तिका घरमा आगजनी तथा तोडफोड हुँदा देखिएको नगदसम्बन्धी छानबिन सुरू भइसकेको जानकारी दिइन् ।

उनले भनिन्, ‘प्रदर्शनका क्रममा व्यक्तिका निजी घर तोडफोड, आगजनी हुँदा अस्वाभाविक रूपमा देखिएको नगद रकमका सम्बन्धमा सरकारका सम्बद्ध निकायले छानबिनको कारबाही सुरू गरिसकेको छ ।’

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास, कांग्रेस नेता दीपक खड्काको घरमा आगजनी हुँदा नगद फेला परेको भिडियोहरू सामाजिक संजालमा आएका थिए ।