काठमाडौं । मन्त्रिपरिषद् विस्तारको चर्चा भइरहेका बेला क्यान्सर विशेषज्ञ तथा समाजसेवी डा. मदन कुमार पियालाई स्वास्थ्य मन्त्री नियुक्त गर्ने विषयले सार्वजनिक ध्यान खिचेको छ। सशस्त्र प्रहरी बलका पूर्व प्रमुख शैलेन्द्र कुमार श्रेष्ठले डा. पियाको नाममा भइरहेको बहसलाई समयसापेक्ष मात्र नभई जनअपेक्षा र चाहनासँग प्रत्यक्ष जोडिएको बताएका छन्।
अन्तर्राष्ट्रियस्तरमै सम्मानित क्यान्सर विशेषज्ञ डा. पियाले जाउलाखेलस्थित नेशनल हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टरमार्फत सस्तो र गुणस्तरीय उपचार उपलब्ध गराउँदै आएका छन्। साथै रोटरी लगायत संस्थामार्फत विपन्न समुदायका लागि निरन्तर सेवा पुर्याउँदै आएका उनी स्वास्थ्य सेवामा सुशासन र पारदर्शिताका पक्षधर मानिन्छन्।
श्रेष्ठका अनुसार पारदर्शिता र भ्रष्टाचारमुक्त सेवाप्रति डा. पियाको दृढ प्रतिबद्धता हालैको जेन जेड आन्दोलनका बलिदानप्रति सम्मान पनि हो विशेषज्ञहरू विश्वास गर्छन्, उनको नेतृत्वमा स्वास्थ्य मन्त्रालय नागरिकमैत्री र प्रभावकारी बन्नेछ। साथै क्यान्सरसहित सम्पूर्ण स्वास्थ्य सेवामा गुणात्मक सुधार र नयाँ पहल सुरू हुने अपेक्षा गरिएको छ।
डा. पियालाई मन्त्री बनाउनु केवल चिकित्सकको सम्मान मात्र नभई नागरिकलाई आशा, विश्वास र प्रेरणा दिने ऐतिहासिक कदम हुने टिप्पणी गरिएको छ।

प्रतिक्रिया