कांग्रेसमा विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर अभियान सुरु


काठमाडौं । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिहरुले विशेष महाधिवेशनको माग गर्दै पार्टीमा हस्ताक्षर अभियान सुरु गरेका छन् ।

कांग्रेस नेता गुरुराज घिमिरे, देवराज चालिसे, नारायण भट्टराई, जनकराज गिरी, रामपल्टन साहसहित १०९ जना महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर अभियान नै चलाएका हुन् ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा नेता भट्टराईले विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान सुरु गरिएको जानकारी दिए ।

यो हस्ताक्षर अभियानमा कुनै पनि समूह नरहेको पनि उनले प्रष्ट पारे । उनले यो अभियान गुट निरपेक्ष रहेको र विशेष महाधिवेशन बोलाएर अहिलेको परिस्थितिको बारेमा छलफलको लागि रहेको बताए । उनले भने, ‘अहिले नियमित महाधिवेशन हुन सक्ने सम्भावना छैन । अहिले राष्ट्रमा उत्पन्न भएको यो अवस्था, पार्टीको नेतृत्व चयन कसरी गर्ने र पार्टीलाई रुपान्तरण कसरी गर्ने भन्ने हो ।’

विशेष महाधिवेशन आव्हान गर्न केन्द्रीय समितिले निर्णय लिनुपर्ने वा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गर्नुपर्ने व्यवस्था छ । विधानको दफा १७ (२) मा भनिएको छ,‘ केन्द्रीय कार्यसमितिले आवश्यक ठानेमा वा केन्द्रीय महाधिवेशनका ४० प्रतिशत सदस्यहरूले केन्द्रीय महाधिवेशनको बैठक बोलाउन विशेष कारण खुलाई केन्द्रसमक्ष लिखित अनुरोध गरेमा निवेदन परेको तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने छ । जेनजी आन्दोलनपछि कांग्रेसमा नेतृत्व परिवर्तनको चर्चा चलेको छ ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पनि विशेष महधिवेशनमार्फत नेतृत्व चयन गर्नुपर्ने बताउँदै आएका छन् ।