-गोविन्द एस उपाध्याय ।
१. हरेक चियापसलमा घटनाको विश्लेषण गर्ने नामुद विश्लेषकहरू सजिलै भेटिन्छन् । विश्लेषकहरू भन्छन्ः यो आन्दोलन अमेरिकाले गराएको हो । अर्का विश्लेषक भन्छन्ः यो आन्दोलन भारतले गराएको हो । तेस्रा विश्लेषक भन्छन्ः यो आन्दोलन अमेरिकालाई रोक्न भारत र चाइनाले मिलेर गराएको हो ।
२. अर्का विश्लेषकहरू पनि छन् । उनका विचारमा आन्दोलनमा भारतीय रका एजेन्टहरूले नेपाललाई टाट पल्टाउन आफ्ना एजेन्टहरू परिचालित गरेका हुन् । अर्का विश्लेषकका अनुसार अमेरिकाले पैसा दिएर चीन र भारतलाई चुनौति दिन अमेरिका र युरोपेलीहरूले फसाद गराएका हुन् । अझैं बुद्धिमान विश्लेषक र अनुसन्धाताझैँ तेस्रा विश्लेषक भन्छन्ः यो सबै बामपन्थी, समाजवादीहरूले इसाईहरूसँग मिलेर नेपाललाई ध्वस्त बनाएर परमेश्वरको भक्त बनाउन (धर्मपरिवर्तन गरेर नेपाललाई मुसाई राष्ट्र बनाउन) सजिलो पारेका हुन् ।
(३) अनि, अर्का पनि चियापसलको खोजमा विश्लेषण गरेका विषयहरू पनि छन्ः यो सबै राजावादी, दुर्गा प्रसाई, असन्तुष्ट कांग्रेस, एमाले, माओवादीहरूले ‘देखाई दिन’ बितण्डा मचाएको हुन् । अर्का विश्लेषक गम्भीर भएर भन्छन् ‘जेनजी आतंककारी’ हुन् । यिनले पैसा लिएर आफ्नै सम्पत्ति नष्ट गरेका छन् । तेस्रा विश्लेषकले भनेको सुनियोः राजावादी र दुर्गा प्रसाइले १००० मोटरसाइकल परिचालित गरेर आगो लगाएका हुन् । अझै अजंगका विश्लेषकके भनेको सुनियोः यो सबै आन्दोलन सेना र शस्त्रले मिलेर गणतन्त्रलाई फेल गर्न गरेका हुन् । यिनकै हात छ ।
(४) घरघर, टोलटोलमा अन्तर्राष्ट्रियस्तरका अनुसन्धाता, व्याख्याता, विश्लेषकहरू भएको देश नेपाल नै हो । नेपालमा मात्र नपुगेर विदेशमा भएका नेपालीहरूले पनि विश्लेषणका अनेकौं सिद्धान्त प्रतिपादन गरिरहेका छन् । पत्रकार, पत्रकारका गुरूहरू, चिकित्सक, इन्जिनियर, राजनीतिककर्मी, बुद्धिजीवी, नागरिक समाज, विद्यार्थी सबैमा दोष देखाउन सक्ने अद्भूत क्षमता छ । आफ्नो निजी काम (प्रोफेसन) बाहेक सबैको कुराको ज्ञान छ । हाम्रा विश्लेषकहरूलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कलम उठाउँदा ‘अब राष्ट्रपतिले यो लेख्दै छन्’ भन्ने सम्मको सूचना हुन्छन् ।
(५) केही विश्लेषकहरू, बुद्धिजीवीहरू अद्भूत छन् । उनीहरूका अनुसार देशमा भएका सबै नेता र राजनीतिक पार्टीहरू विदेशीका एजेन्ट हुन् । कसैले पनि नेपाल र नेपालीको लागि काम गर्दैनन् । विदेशी स्वार्थका लागि परिचालित हुन् । देशका हरेक क्षेत्रमा विदेशीहरूका एजेन्ट छन् । न्यायाधीश, राजनेता, कर्मचारीआदि सबै परिचालित हुन् । सर्वपाटी संयन्त्र नै बनाएर देश लुटिरहेका छन् । यसो यी विश्लेषकका विचारमा आफू बाहेक अब्बल देशभक्त कुनै छैन । देशको प्रधानमन्त्री, राष्ट्रपतिमा उसको मात्र एकाधिकार हुनुपर्छ । नेपाली समृद्ध भैहाल्छ । यसका लागि ‘हालका सबै नेता–कर्मचारी’लाई जेल पठाउनुपर्छ ।
(६) आजका मितिमा चियापसल होस् वा जाँडको भट्टी सबैतिर विशेषज्ञहरूको ठूलो जमघट छ । अनेकौ सिद्धान्तहरू अगाडी सारिन्छन् । त्यतिमात्र होइन, पूर्वप्रधानमन्त्रीहरूले समेत अन्तराष्ट्रिय विश्लेषक बनेर ‘असफल भएको होइन बनाइएको’ सिद्धान्त सार्वजनिक गर्छन् । केही स्वयम्भूहरू त झन् ‘जेनजी’ आन्दोलनको जस लिन अनेकौ विज्ञप्तिहरू निकाल्छन् । आफ्नै असली जेनजी भएको दावी गर्दै मन्त्री नै पड्काउने दावी गर्छन् । अर्कातिर, जेनजीकाविरुद्ध प्रत्यक्ष बोल्ने आँट नभएर ‘घूसपैठ’को सिद्धान्त प्रस्तुत गरिरहेका छन् । सबैभन्दा अचम्मको कुरा : दोषका लागि सबैले अर्कालाई मात्र देखाइरहेका छन् । त्यो अर्को ‘कुन् हो ?’ विषयवस्तुको पहुँच सुन्दा मजस्तो भुईमान्छे तीनछक पर्छ !!
(७) म भने भूइँमान्छे ठहरें । मेरो अगाडी खरानी भएको सिंहदरवार छ । भाटभटेनीहरू छन् । गोली लगेर ज्यान गुमाएकाहरूको खरानी छ । अनाहकमा ज्यान गुमाएका प्रहरी परिवारको रोदन छ । भ्रष्टाचार निवारण गर्छौं भनेर सत्तामा पुगेकाहरूको फुस्रो र परिणामहीन गफ छन् । यहाँ भुइँमान्छेका कुरा बाहेक सबैका कुरा सुनिन्छन् । भुइँमान्छेले जलाउन सक्दैन, लुट्न सक्दैन, मार्न सक्दैन । प्रधानमन्त्रीको बेडरूपमा बनिरहेका कार्यक्रमहरू बुझ्न सक्दैन । उसले केवल आफूलाई गुमाउन सक्छ, नसके विश्लेषक र लडाकुहरूको दोहोरो चक्रमा घुमेर अवसाद सहन्छ ।
एउटा भुइँमान्छे केवल भुइँमान्छे हुन सक्छ, प्रधानमन्त्री शक्तिवाल हुनैसक्दैन । गुनासो गर्न सक्छ तर त्यो गुनासोको कुनै अर्थ हुँदैन । सत्ता गुम्नेहरू सत्ता गुमेकोमा रोएका छन् । केही सत्ताप्राप्तिको लागि प्रयासरत छन् । केही ‘विदेशतिरको नेपथ्यमा ताकेर सत्ताप्राप्ति होला कि’ भनेर पुनः विश्लेषण गर्दैछन् । पुरानाहरूमा पश्चातापको कुनै लक्षण छैन र नयाँहरूसंग प्रष्ट रोडम्याप छैन । मजस्तो भूइँमान्छेले गरोस् त के गरोस् ? भुइँमान्छेसँग असुरक्षा र भविष्यको लागि किम्कर्तव्यका बाहेक केही विकल्प छैन ।

प्रतिक्रिया