जेनजी आन्दोलनको सबैभन्दा अँध्यारो पक्ष


-नारायण गाउँले ।

यो आन्दोलनको सबैभन्दा अँध्यारो पक्ष भनेको जेलमाथिको आक्रमण र देशभरका कुख्यात कैदी बाहिर निस्किनु हो । राजनीतिक प्रदर्शन र तोडफोड त विश्वभर भइ नै रहने घटना हुन् । ठूलाठूला आन्दोलनले जेलमा रहेका राजनैतिक आस्थाका बन्दीलाई बाहिर निकालेर सत्तामा पुर्याउने काम पनि भएका छन् । तर देशभरका अदालत र जेलमाथि आक्रमण हुने र कैदीहरू खुल्लमखुल्ला बाहिर निस्किने भन्ने बिरलै घट्ने घटना हुन् । एउटा देशका सबै अपराधी र आतङ्ककारी जेलबाहिर हुनु भनेको आजसम्मको न्यायिक खर्च र प्रक्रिया शून्य हुनु हो र समाज अपराधीको चङ्गुलमा पुग्नु हो । यसले विश्वसामु देशको शिर झुकाएको छ । देशको विश्वसनीयता नै कमजोर बनाएको छ ।

आज धेरै देशले नेपालीलाई भिसा बन्द गर्दै गरेको दुःखद समाचार आउँदै छ । यसले वैदेशिक रोजगारीमा पनि असर गर्नेछ । कुनै पनि देशले अपराधीलाई भिसा दिन चाहन्न । प्रहरी कार्यालय नै जलाइएकाले अपराधीको पुलिस रिपोर्ट पनि तिनले ‘भ्यालिड’ नमान्ने डर हुन्छ ।

जेनजीका अगुवाहरूले सुरुकै दिनदेखि जेल र अदालत आफ्नो निशाना नभएको बताएका थिए । जेल निशाना बन्नुमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रत्यक्ष–अप्रत्यक्ष भूमिका क्लियर नै छ । आन्दोलनको नाममा उसका केन्द्रीय सदस्य र पदाधिकारीसमेत जेलका ढोकामा पुगेका र सोसल मिडियाबाट सबैलाई जेलको ढोकामा पुग्न र रविजीलाई निकाल्न आह्वान गर्दै गरेका भिडियो र स्ट्याटस यत्रतत्र छन् ।

हिजो देशको समग्र न्यायिक प्रक्रिया नै प्रतिशोधपूर्ण र भ्रष्ट छ भन्ने भाष्यले पार्टीलाई मद्दत नै गरेको थियो होला । तर जेन–जीको आन्दोलनको आड़मा यसपालि जेललाई भौतिक निशाना बनाएको घटना र त्यसमा देखिने गरी सहभागिताले रास्वपालाई राष्ट्रिय–अन्तर्राष्ट्रिय रूपमा ठूलो क्षति गरेको छ । हजारौँ कार्यकर्ताको भीड़मा हात हल्लाउँदै बाहिर आएको दृश्यले त्यहाँ सुरक्षा चुनौती थियो भन्ने तर्कलाई पनि कमजोर बनाएकै हो । देशको सर्वोच्च अदालतले नै थुनामा पठाएको व्यक्तिलाई अदालतबाहेक अरूले थुनामुक्त गर्ने काम न न्यायिक हुन्थ्यो, न राम्रो नजीर हुन्थ्यो । एउटा कर्मचारीले हस्ताक्षर गरेर कुनै कैदी बाहिर आउन मिल्ने नजीरले त देश र समग्र न्यायिक प्रक्रियालाई ठूलो हानि पुग्ने स्थिति थियो ।

रास्वपा यसपटक चुकेको हो । तीन दलले मात्रै माफी मागेर उसले खुशी मनाउन मिल्दैन । रास्वपाको समग्र शक्ति र साधनस्रोत छिटोभन्दा छिटो न्यायिक प्रक्रिया पूरा गरेर रवि लामिछानेको केसलाई निष्कर्षमा पुर्याउनेतिर लाग्नुपर्ने हो । हाम्रो न्यायिक प्रक्रिया एकदम सुस्त छ । अहिले त सबै जलेपछि झन् ढिलो होला । यद्यपि कानुनको दृष्टिमा सबै एकै हुनुपर्छ तर यत्रो ठूलो जनसमर्थन र चासो भएको व्यक्तिलाई पुर्पक्षका रूपमा सधैँ जेलमैं राखिरहनु पक्कै उचित हुँदैन । शीघ्रतम प्रक्रियाबाट न्यायिक निरूपण गर्दै दोषी या निर्दोष साबित गर्नु जरूरी छ । तर यो गर्ने हाम्रै न्यायिक प्रणालीले हो । भोलि अदालतबाट निर्दोष देखिएको दिन रवि लामिछानेलाई यो देशको प्रधानमन्त्री बन्न कसैले रोक्न सक्छ जस्तो लाग्दैन । तर उनी दोषी देखिएको दिन पनि पार्टी रहिरहन्छ भन्ने सन्देश दिने काम पार्टी कै हो ।

यत्तिकै आधारमा यो जेल प्रकरणमा रास्वपाको संस्थागत सहभागिता थियो भन्न सकिन्न । तर कुनै न कुनै हदको उसको सहभागिता थियो भन्ने लुकेको पनि छैन । यसले उसको अन्तर्राष्ट्रिय छवि र कानुनी शासनप्रतिको प्रतिबद्धतालाई समेत धमिलो बनाएको छ ।

यसलाई गम्भीरतापूर्वक लिएर, आफूबाट भएका गल्तीप्रति माफी मागेर, यसमा मुख्य भूमिका खेल्नेलाई कारवाहीको दायरामा ल्याएर राष्ट्रिय–अन्तर्राष्ट्रिय रूपमा यो पार्टी न्यायिक सर्वोच्चता र कानुनी राज्यको पक्षमा छ भन्ने सन्देश दिन जरूरी देखिन्छ । कुनै पनि कुराको जिम्मा नलिने, थाहा भएन मात्रै भन्ने र दोष जति अरूकै काँधमा मात्रै सुम्पने नजीर बस्न दिनु हुँदैन ।
आज लोकप्रियता खस्केको होला, सकिएको छैन । वैकल्पिक राजनीति र परिवर्तनका पक्षमा जुन माहोल रास्वपाले ल्याएको थियो, परम्परागत पार्टीले कब्जा गरेको सिस्टमलाई हल्लाउँदै व्यापक सुधारको जुन सपना यसले बाँडेको थियो, पार्टीहरूलाई सच्चिन या सकिन जुन स्तरको दबाब पैदा भएको थियो, त्यो जिउँदै र उस्तै छ ! बाँकी त समयले बताउला !