काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी मंसिरमा विशेष महाधिवेशनको प्रस्ताव गरेका छन् । आइतबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकमा अध्यक्ष प्रचण्डले सबै कमिटी भंग गरेर आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव गरेका हुन् ।
बैठकमा प्रचण्डले विशेष महाधिवेशनका लागि तयारी गर्न अबको एक साताभित्र केन्द्रीय कमिटीमा प्रस्ताव लैजाने र लगत्तै महाधिवेशन आयोजक समिति गठन गर्ने बताएका छन् ।
अध्यक्ष प्रचण्डले युवाहरूकोसाथै महिला, दलित लगायतलाई हुनेगरी एउटा संकल्प प्रस्ताव बनाउने र संगठनात्मक रुपान्तरणको प्रस्तावसहित वस्तुगत निर्णय महाधिवेशनबाट गर्नुपर्ने बताए । उनले महाधिवेशनबाट प्रत्यक्ष चुनेर अध्यक्षसहितका सबै पदाधिकारी हुनेगरी जानसमेत प्रस्ताव गरेका छन् ।
बैठकमा प्रचण्डले अहिलेको परिस्थिति माओवादीबाहेक अरुले सम्हाल्न नसक्ने समेत बताएका थिए । माओवादीका उपमहासचिव जनार्दन शर्मासहित केही नेताले नेतृत्व परिवर्तनलगायत माग राख्दै आएका थिए ।
प्रचण्डको प्रस्तावमा केन्द्रदेखि तल्लो स्तरसम्मको सबै समितिहरू भङ्ग गर्ने समेत भनिएको छ । प्रचण्डले बैठकमा जेनजी आन्दोलन र यसले उठाएका प्रश्नहरूको विषयमा पनि उठाएका थिए । पछिल्लो समय ठूला दलहरूमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको बहस चलिरहेको छ ।

प्रतिक्रिया