काठमाडौँ । नेपाली कांग्रेसका ६ जना पूर्वपदाधिकारी छलफलमा जुटेका छन् । कांग्रेस नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा पूर्वउपसभापतिद्वय गोपालमान श्रेष्ठ र विमलेन्द्र निधि, पूर्वमहामन्त्रीहरू सिंह, कृष्णप्रसाद सिटौला र डा शशाङ्क कोइराला तथा पूर्वसहमहामन्त्री एवं पार्टी प्रवक्ता डा प्रकाशशरण महत छलफलमा जुटेका हुन् ।
पार्टीको आगामी १५ औँ महाधिवेशनमा कसरी अगाडि बढ्ने र नेतृत्व परिवर्तनको विषयमा समान धारणा बनाउन उनीहरु छलफलमा जुटेका हुन् । नेता सिटौलाले आफूहरुले लोकतन्त्र अझ धेरै जोखिममा परेको निष्कर्ष निकालेको बताए ।
उनले सभापति शेरबहादुर देउवाको स्वास्थ्यमा सुधार हुनासाथ विस्तृत छलफल गरेर पार्टीले एकीकृत रूपमा अगाडिको बाटो तय गर्नुपर्ने बताए । उनले पार्टीका नेता विशेषका आआफ्ना दृष्टिकोण रहनु स्वाभाविक भएपनि केन्द्रीय समितिले पार्टीकोे स्पष्ट दृष्टिकोण बनाएर अघि बढ्ने बताए ।
पार्टी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन गरेर पार्टीको नेतृत्व परिवर्तन गर्नुपर्ने आवाज उठाउँदै आएका छन् । तर आज बिहान प्रवक्ता महतले पत्रकार सम्मेलन गरी महामन्त्रीहरुको प्रस्तावको विरोध गरेका थिए ।

प्रतिक्रिया