दीपकराज गिरी ।
म २०४८ साल तिर प्रहरीमा भर्ना भएको थिएँ, तालिम सुरू भो, यति गाह्रो भो कि केही दिनमै भागें । एक हप्ता पनि टिक्न सकिन, म बेला बेलामा सोच्थें यस्तो कठिन जागिर मान्छेले कसरी खान्छ होला ? र आज त मैले पूरा महसूस गरें साँच्चै नै धेरै गाह्रो रहेछ प्रहरीको जागिर ।
यो आन्दोलनमा कसको कति गल्ती भयो ठ्याक्कै हिसाब त इतिहासले गर्नेछ । तर यो चाहिँ पक्का हो कि हामी सबैको भागमा केही न केहीपर्छ नै ! यदि आन्दोलन दबाउने पक्षमा उभिएका थियौं भने सायद ती मृतकहरू र उनीहरूको परिवारको रगत र आँशुका केही छिटाहरू हाम्रा भागमा पर्लान्, आन्दोलनको पक्षमा उभिएर लेख्यौं, वा सडकमा गएका थियौं भने केहिी मुठ्ठी खरानी भागमा पर्छ नै । गल्ती धेरै पक्षबाट भएका छन् , त्यो हिसाब नगरौं अहिले । जति क्षति भए ति पनि बिस्तारै ठिक होलान्, हुनु पनि पर्छ । जलेका सरकारी भवन ढिलो चाँडो उठ्लान् नै ।
निर्दोषहरू माथि भएको अन्याय पनि समयले सम्बोधन गर्ला ,तर ….., तर तुरून्त उठाउनु पर्ने केही छ भने त्यो हो प्रहरीको मनोबल ….., दशैं तिहार मुखमा छ, यसै पनि यो बेला चोरहरूको बिगबिगी हुने समय हो, त्यो माथि अहिले जेलबाट फरार कैदीहरू यत्रतत्र छन्, यस्तो अवस्थामा हाम्रो पहिलो प्राथमिकता के हुनु पर्ला ?
प्रहरीले दशैंमा आफ्नो घर परिवार छोडेर हामीलाई सुरक्षा दिन्थ्यो र पो हामी परिवारसँग आनन्दले ढुक्क भएर दशैं तिहार मनाउँथ्यौ तर अहिले हामीलाई सुरक्षा दिने प्रहरी स्वयंसँग बस्ने भवन छैन, लगाउन पोशाक छैन, केही परे हिँड्न बाहन छैन र त्यो भन्दा पनि ठूलो उनीहरूको मनोबल उच्च छैन । यस्तोमा तपाईं हामीले कमसेकम आफ्नो क्षेत्रमा रहेको प्रहरी चौकी स्थापित गर्न सक्दो सहयोग गरौं । उनीहरू बस्ने बास पुनःस्थापित गरौं । उनीहरूलाई अत्यावश्यक पर्ने कुराहरू जोहो गरौं । हिजो प्रहरीले भन्थे नआत्तिनुस हामी छौं, आज तपाईं हामीले भनौं ‘तपाईंहरू पनि नआत्तिनुस् हामी छौं ।’

प्रतिक्रिया