सर्वोच्चमा मुद्दाको सुनुवाइ हुँदै गरेको यो तस्बिर हाम्रो विध्वंशक चरित्रमाथिको गहिरो झापड हो


-नारायण गाउँले

सर्वोच्च अदालतमा मुद्दाको सुनुवाइ हुँदै गरेको यो तस्बिर हाम्रो विध्वंशक चरित्रमाथिको गहिरो झापड हो । हामी कहाँ पुग्ने भनेर हिँडेका थियौँ र एकै दिनमा कहाँ आइपुग्यौँ ? यो जेनजीले पनि रियलाइज गर्न पर्यो र जेनजीको खोल ओढेर अदालत जलाउने दाइहरूले पनि आफ्नै अनुहारमा पोतिएको यो कालोमोसो हेर्नुपर्यो ।

देशका मुख्य तीन पिल्लर हुन्छन् । व्यवस्थापिका अर्थात् जनताले चुनेका र कानुन बनाउने प्रतिनिधि रहेको संसद, जुन अहिले विघटन भइसक्यो । भवन पनि खरानी छ । दोस्रो पिल्लर त्यसले बनाउने ऐन र कानुनलाई लागू गर्ने कार्यपालिका अर्थात् मन्त्रिपरिषद ! त्यो बन्ने क्रममैं छ, पूर्ण छैन ।

देशको तेस्रो पिल्लर न्यायपालिका हो, जुन यसरी सडकमा आइपुगेको छ । घर बलियो हुन सबै पिल्लर बलियो हुनुपर्छ । यो देशभरका अदालतमध्ये सबैभन्दा माथिल्लो अदालत हो र बायाँ छेउमा बसेर मुद्दा सुनुवाइ गर्दै गरेकी माननीय न्यायाधीश सपना मल्ल प्रधान भोलिको प्रधानन्यायाधीश बन्ने लाइनमा हुनुहुन्छ । एक्काइसौँ शताब्दीमा मान्छेले चन्द्रमा र मङ्गलग्रहमा बसोबासको सम्भावना खोज्दै गर्दा हाम्रा पिल्लरहरू यो स्थितिबाट उठ्न पर्नेछ । अधिवक्ता यज्ञमणि न्यौपानेले पोस्ट गर्नुभएको यो तस्बिरले साँच्चिकै हाम्रो चेतनालाई गिज्याइरहेको छ ।

अहिलेको प्रधानमन्त्री परिवर्तनका लागि कुन हदको बलिदान देशले दिएको छ भन्ने हेक्का सबैले राख्न पर्यो । सबैले अलिकति पीडाबोध, अलिकति गल्तीबोध र अलिकति कर्तव्यबोध गर्दै हातेमालो गर्न पर्यो । अब सके उठ्ने हो, नसके यसभन्दा तल जाने ठाउँ छैन, सकिने मात्रै हो ।