अमेरिकी विदेश मन्त्रालयले भन्यो- संविधानको पालना गर्ने पारदर्शी सरकारप्रतिको नेपाली जनताको आकांक्षालाई समर्थन छ


काठमाडौं । अमेरिकाले नेपालको संविधान दिवसको अवसरमा नेपाली जनतालाई बधाई दिएको छ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले विज्ञप्ति जारी गरी नेपालको संविधानको पालना गर्ने पारदर्शी सरकारप्रतिको नेपाली जनताको आकांक्षालाई समर्थन व्यक्त गरेका हुन् ।

सन्देशमा भनिएको छ, ‘आगामी निर्वाचनको तयारीका क्रममा लोकतान्त्रिक समाधान हासिल गर्न संविधानको पालना अनिवार्य छ।’ साथै हालैको विरोध प्रदर्शनमा ज्यान गुमाएका प्रति समवेदना व्यक्त गर्दै अमेरिकाले घाइते र मृतक परिवारप्रति संवेदना प्रकट गरेको छ।

अमेरिकाले नेपाली जनताले आर्थिक वृद्धिलाई अगाडि बढाउने, क्षेत्रीय सुरक्षालाई सुदृढ पार्ने र सबैको समृद्धि प्रवद्र्धन गर्ने आशालाग्दो भविष्य पाउनुपर्ने उल्लेख गरेको छ । यसका लागि मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताले यातायात तथा ऊर्जा पूर्वाधार विस्तार, रोजगारी सिर्जना, दीर्घकालीन आर्थिक वृद्धि तथा अमेरिकी कम्पनीका लागि व्यवसायिक अवसरहरू सिर्जना गर्ने विश्वास व्यक्त गरिएको छ।

सन्देशमा दक्षिण एसियामा स्थायित्व प्रवद्र्धन गर्ने र सुरक्षित तथा शान्तिपूर्ण विश्व निर्माणमा नेपालको साथसाथ निरन्तर सहकार्य गर्ने अपेक्षा व्यक्त गरिएको छ।