काठमाडौं । जेनजी आन्दोलनका क्रममा पार्टी सभापति शेरबहादुर देउवाको निवासमा भएको आक्रमणपछि सामाजिक सञ्जालमार्फत फैलाइएका समाचार कपोकल्पित र भ्रामक भएको उनको निजी सचिवालयले बताएको छ ।
सभापति देउवाका स्वकीय सचिव भानु देउवाले बिहीबार राति विज्ञप्ति जारी गरी विभिन्न समूहहरूले आन्दोलनलाई धमिलो बनाउँदै देउवाको निवासमा भएका घटनालाई तोडमोड गरी प्रचार गरिएको उल्लेख गरेका छन् । भदौ २४ गते बिहान कांग्रेस सभापति देउवा र उनकी धर्मपत्नी तथा केन्द्रीय सदस्य डा. आरजु राणा देउवासहितलाई लक्षित गरी ‘डकैती शैलीमा’ आक्रमण भएको भन्दै विज्ञप्तिमा त्यसप्रति भत्र्सना गरिएको छ । तर आक्रमणपछि सामाजिक सञ्जाल र युट्युबमार्फत ‘देउवा निवासमा अत्यधिक पैसा भेटिएको, जलेका नोटका अंशहरू परिसरमा जताततै भेटिएको, पैसाको सुरुङ रहेको’ जस्ता समाचार प्रवाह हुनु आपराधिक घटनालाई राजनीतिकरण गर्ने नियत रहेको सचिवालयको दाबी छ ।
विज्ञप्तिमा भनिएको छ, ‘सामाजिक सञ्जालमा देखाइएका दृष्यहरू कपोकल्पित, अतिरञ्जित र भ्रामकका साथै दूषित मनसायले बदनाम गर्ने उद्देश्यले फैलाइएका हुन् ।’
सचिवालयले विशेष गरी निवासभित्र रहेको अन्डर ग्राउन्ड ट्याङ्कीलाई पैसाको सुरुङ भनेर अफवाह फैलाइएकोप्रति आपत्ति जनाउँदै त्यसलाई सामान्य पानी ट्याङ्की भएको स्पष्ट गरेको छ । त्यस्तै, विभिन्न समयमा विभिन्न स्थानमा जलेका नोटका दृश्यलाई सम्पादन गरेर एकै ठाउँमा भएको झैँ देखाइएको र त्यस्ता भ्रामक भिडियो÷फोटोहरू प्रविधिको दुरुपयोग भएको विज्ञप्तिमा जनाइएको छ ।


प्रतिक्रिया