अष्ट्रेलियामा समुद्री सतह बढ्दो क्रममा, १५ लाख मानिस जोखिममा


सिड्नी । जलवायु परिवर्तनका कारण बढ्दो समुद्री सतह र तटीय बाढीले सन् २०५० सम्ममा १५ लाखभन्दा बढी अष्ट्रेलियाली नागरिकको घर, जीविकोपार्जन र जीवनशैलीमा गम्भीर खतरा उत्पन्न गर्ने चेतावनी एक महत्वपूर्ण रिपोर्टले दिएको छ ।

सरकारका लागि स्वतन्त्र रूपमा तयार गरिएको यो राष्ट्रिय जलवायु जोखिम मूल्याङ्कन प्रतिवेदन अष्ट्रेलियाको जीवनशैलीमा तापमान वृद्धिले ‘सिलसिलाबद्ध, जटिल र एकैपटक असर पार्ने’ प्रभाव पार्ने उल्लेख गरिएको छ ।

“हामी अहिले जलवायु परिवर्तनको प्रभाव अनुभव गरिरहेका छौं । यो अब केवल पूर्वानुमान होइन, वास्तविकता हो,” जलवायु मन्त्री क्रिस बोवेनले भने ।

रिपोर्ट अनुसार, सन् २०५० सम्म १५ लाख अष्ट्रेलियालीहरू समुद्री सतह वृद्धिको जोखिममा पर्नेछन्, र यो सङ्ख्या सन् २०९० सम्म दोब्बर भएर ३० लाख पुग्न सक्नेछ ।

विशेषगरी उत्तरी अष्ट्रेलियास्थित टोरेस स्ट्रेट टापुहरूमा समुद्री सतह औसत दरभन्दा छिटो बढिरहेको छ ।
एडिथ कोवान विश्वविद्यालयकी सामुदायिक समन्वयकर्ता तथा स्वदेशी समुदायकी जोएन हिलले भनिन्,“अब हामीले ढिला गर्न मिल्दैन । यदि तुरुन्त कदम चालिएन भने, टोरेस स्ट्रेटका टापुहरूमा बसोबास गर्ने समुदायले आफ्नो घर, संस्कृति र परम्परा गुमाउनेछन् ।”

यो रिपोर्ट सार्वजनिक भएको केही दिनभित्रै अष्ट्रेलियाले पेरिस जलवायु सम्झौताअन्तर्गत नयाँ उत्सर्जन कटौती लक्ष्य सार्वजनिक गर्नेछ भन्ने अपेक्षा गरिएको छ ।