हामीले जित्यौं भनेर जेनजीमा उन्माद मात्र रह्यो भने देश दुर्घटनामा जान्छ


-सुमना श्रेष्ठ

प्रिय जेनजी, तपाईँहरूको आन्दोलनले मेरो पुस्ताले हुनै नसक्ने भनेर सोचेको परिवर्तन ल्याएको छ, शीर्ष नेता भनाउँदाहरू जसले यो देशलाई जकडेर राखेका थिए, त्यो बन्धनबाट देशलाई मुक्ति मिलेको छ । म मिलेनियल पुस्ता, तपाईँहरूको दिदीको उमेरकी, तपाईँहरूको उपलब्धिमा राजनीति गर्न हैन, उपदेश दिन हैन, आफूले सिकेको भोगेको धेर थोर अनुभव बाढ्न यो खुला पत्र लेख्दैछु, आशा छ भावी कदम चाल्न यसले मद्दत गर्ला ।

जेनजी अभियान मेरो बुझाईमा अवसरको असमानताविरुद्ध थियो। कुनै एक पार्टी वा परिवारको सदस्य भए जे पनि सजिलो, राज्यको हरेक श्रोतमा पहुँच हुने, शिक्षा रोजगारमा उच्च प्राथमिकता पाउने, सजिलै करियरमा सफलता मिल्ने तर आम मान्छेलाई भने राज्यले दिने आधारभूत सेवा पाउन पनि सास्ती खेप्नु पर्ने अवस्था विरुद्ध थियो । यसमा मेरो पूरापूर समर्थन छ, म राजनीतिमा लागेदेखि यो असमानता विरुद्ध काम गर्ने प्रयास गरे, अब पनि जारी रहेनछ ।

अहिलेको संघीय संसदका शीर्ष नेताहरूको वैधानिकता छैन, आन्दोलनको मर्म अनुरुप प्रतिनिधिसभा विघटन नै भइसक्यो । अबको चुनावले आउने ५ वर्ष लागि सदन नयाँ अनुहारले भरोस्, पालिका प्रमुख र उप प्रमुखमा पनि नयाँ अनुहार देख्न पाइयोस् ।
अब आउने निर्वाचनका लागि अहिलेदेखि नै उम्मेदवार तयार गर्न तर्फ कदम पनि चाल्नुस् है । त्यसका लागि सार्वजनिक छवि बनाउने, अन्तरिम सरकारमा सामेल भएर अनुभव लिने जस्ताका काम शुरु गर्नुस् । अहिले कुन तहमा चुनाव हुन्छ प्रष्ट छैन तर याद राख्नुस् असल नेतृत्व संघमा मात्र हैन स्थानीय तहदेखि नै चाहिन्छ । मेरो विचारमा स्थानीय तहमा अब्बल नेतृत्वको झनै धेरै खाँचो छ, त्यहाँ पनि ध्यान केन्द्रित गर्नुहोस् है ।

जेनजीले आन्दोलन थालेर परिवर्तन ल्याउनु भयो। जेनजी अहिलेको प्रमुख उमेर समुह मध्ये एक पनि हो। तर अन्य समुहसँग सहअस्तित्वको लागि निरन्तर संवाद जरुरी छ। यस बाहेक पुराना दलहरू पनि छन्, उनीहरूलाई पनि निषेध गरेर हैन सुध्रन बाध्य पारेर सहकार्य गर्न सक्नुपर्छ । हामीले आन्दोलन गर्यौ, हामीले जित्यौं भनेर उन्माद मात्र रह्यो भने यसले देशलाई दुर्घटना तर्फ लग्नेछ । संवादका जारी राख्नका लागि उपयुक्त पात्र पहिचान गर्नुस्, ती पुराना÷नयाँ पार्टीमा पनि हुन सक्नु हुन्छ, व्यक्तिको पृष्ठभूमि केलाउनुस्, दलको आबद्ध मात्र मानक नबनाउनुस् है। पुराना दलले स्थापित गरेको अर्को दलकासँग पानी बाराबार गर्ने संस्कारको अन्त्य गर्नुस्, आफ्नो–अर्काको नभनी सबै नेपालीको भलो हुने गरी काम गर्नु होला है । We r all Nepali first and we need to get everyone to recognize this.

तपाईँहरू आफै पनि भिन्न भूगोल, भिन्न जाति, कोही शहरी, कोही ग्रामीण परिवेश र विविध पृष्ठभूमिबाट आउनु भएको छ, यो विविधतालाई कायम राख्नुहोला । विविधताका बीच केही कुरामा मतभेद हुनु स्वभाभिक हो तर मूल्य मान्यताले निर्देशित भयो भने अघि बढ्न सजिलो हुन्छ, यसको बलमा विश्वासको वातावरण सिर्जना होस् । याद राख्नुस् राज्य सबैभन्दा कमजोरको लागि चाहिन्छ। सबै जनाको आत्मसम्मान सुरक्षित राख्ने तर्फ काम गर्नुहोला । अहिले जताततै अविश्वास व्याप्त छ, यो वातावरणलाई चिरेर अबको सरकारले देशलाई माथि उठाउनु पर्नेछ । रोजगारका लागि देशभित्र र बाहिर बसाइ सराइ गरेका ठूलो जनसंख्या छ, सबैले आफैले बसेको स्थानबाटै मताधिकार प्रयोग गर्न सक्ने सुनिश्चित गर्नुहोला । काम चुनौतीपूर्ण छ, सम्माननीय सुशीला कार्कीको साथ पाउनु भएकोमा पनि बधाइ । देश खरानीबाट उठोस् नयाँ सरकार र जेनजी सबै नेपालीजनमा शुभकामना ।