नत्र अल्फा पुस्ताको रगतमा यसरी नै हिँड्न हामी आजैदेखि तयार रहनुपर्छ ….


-उत्तमबाबु श्रेष्ठ

जुन हिसाबले सत्ता परिवर्तन हुनेतर्फ देश जाँदैछ, त्यो सम्भवत संसारकै राजनीतिक इतिहासमा नौलो मात्रै होइन, अभूतपूर्व हो । संसारभर उदाहरण दिइने रूसको बोल्सेभिक क्रान्तिमा लेनिनको नेतृत्वको फौजले दुई दिनमै सत्ता कब्जा गरेका थियो नोभेम्बर ७, १९१७ मा । यद्यपी, त्यसको अगाडी कयौं महिनासम्म त्यहाँ मजदुर आन्दोलन, बन्द, हडताल भएको थियो ।
पछिल्लो समयमा भएको बंगलादेशमा पनि हसिनाले देश छाड्ने अवस्थाको अन्तिम धक्का दिने भन्दा अघिसम्म कयौं दिनसम्म ढाका विश्वविद्यालयका विद्यार्थीहरूले आन्दोलन चलाएका थिए । अन्तिम दिनको टेरर, धक्का वा विद्रोहले हसिनालाइ देश छाड्न बाध्य पार्यो । र, परिवर्तन भयो ।

दोश्रो विश्वयुद्धमा हिरोशिमा/नागासाकीमा आणविक बम नखसालेको भए जापानले आत्मासमर्पण गर्थाे होला र ? त्यसपछि पनि जापानले आत्मासमर्पण गर्न एक हप्ता समय लागेको थियो । सोभियत फौजले बर्लिनलाइ धेरा नहालेको भए, हिटलरले बंकरभित्रै आत्माहत्या गर्थाे होला त ? केटाकेटी भनेर खिसीगर्नुस् (केटाकेटी के भन्ने पृथ्वीनारायण शाह राजा हुँदा २० वर्षका थिए), डिस्कर्ड, रेडइट र च्याटजीपिटी पुस्ता भनेर होच्याउनुस, तर तिनीहरूले हल्लाएको हो, नेपाली भ्रष्ट सत्ताको जरा र तन्तु । यसो हेर्दा नेपालमा यसअघि हामीले कहित्यै नदेखेको आन्दोलन वा ठूलो शहरी विद्रोह भएको हो । त्यसले सिर्जना गरेको टेटरले नै अहिले परिवर्तन हुन लागेको हो । अधिकांश नेपालीको दिमागमा एकदिन जनताले बदला लिन्छन् । जनता रिसाएका छन् । नेतालाइ सकाउँछन् भन्ने थियो । मैले चौंरी खर्कमा भेडा चराउनेदेखि सिंहदरबारको कुर्सीमा विराजमानहरूको मुखबाट त्यो कुरा सुन्दथे । त्यो जनतालाइ पनि थाह थियो, सिंहदरबारमा बस्नेलाइ पनि । जब कुनै कुरा सबैलाइ लाग्छ, त्यो कमन नलेज बन्दछ र त्यो भइछाड्छ । तर त्यो समय यसरी आयो, हामीले त्यसको मेसो समेत पाएनौं । त्यसमा घुसपैठिया, बदलालिने भाव भएका, लुटपाटकर्ता, बौलाहतालका सबै खाले मान्छे पनि मिसिए होलान् । कयौं निर्दाेषहरू निशानामा परे । जुन दुर्भाग्यपूर्ण छ । तर त्यो स्तरको टेरर नभएको भए, त्यत्रो देशभर पार्टी संरचना भएका पार्टीको दुइ तिहाइको सरकार तासको महल जस्तै ढल्थ्यो होला ? त्यो पनि विना औपचारिक संगठन भएको लुज नेटवर्क तप्काको अगुवाइमा भएको आन्दोलनले ? यत्रो टेटर नभएको भए यो सत्ता हामीले फेसवुकमा वा अन्यत्र लेखेर, नेतालाइ सरापेर, गाली गरेर मात्रै ढल्थ्यो होला त यो विरासत ? त्यसपछिको अवस्थामा उनीहरूले जेनजीले भनेकै मान्छौं भनेर अहिले जसरी भनिरहेका छन् त्यो हुन संभव थियो होला त ?

सेनाको भूमिका, नेपाली सेनाले ज्ञानेन्द्रको शाही कालमा बफादारीता देखाएपनि पछिल्लो समयमा सेनाले प्रोफेसनल नै काम गरेको जस्तो लाग्यो । उसले माओवादीले सेनापति फेरेर असफल कु गर्न लाग्दा होस् वा अहिलेको अवस्थामा । धेरैलाइ लागेको छ, सेनाले सिंहदरबार लगायतका संरचना किन जोगाएन ? त्यो सत्य हो जोगाउनुपथ्र्याे ? तर अर्काे सत्य के पनि हो भने त्यो गर्न सेना तम्सिएको भए र गोली ठोक्न थालेको भए, अहिले हुन लागेको यो परिवर्तन यति चाँडै आँउथ्यो होला ? आन्दोलन बढ्दै जाँदा कति रक्तपात र कति थप क्षति हुन्थ्यो होला ? वा वैदेशिक हस्तक्षेपको खतरा पनि त हुन्थ्यो होला ।

लाग्दैछ, २०४६ सालपछि कर्मचारी, प्रहरी, जासुसी संयन्त्र, न्यायालय, अख्तियार सबैमा दलका मान्छे घुसे । र ति संयन्त्रहरू पंगु भयो । त्यहाँ चेन अफ कमान्ड, crisis management plan खासै काम गर्ने खालको नै रहेनछ वा नबनाइएको रहेछ । हामीले खिचेको फोटो राख्ने त दुई तीन व्याकअप हुन्छ । यत्रो जनताको तथ्यांकको व्याकअप हुने प्रणाली त होला नि ? हुनुपर्छ कि पर्दैन ? दलियकरणले गर्दा हाम्रो संस्थानहरू सबै निकम्मा बनेका रहेछन् । त्यसैले तिनीहरूले एकदमै नराम्रो अवस्थामा के गर्ने ? कसरी काम गर्ने भनेर सोचेका नै रहेनछन्, हाम्रा संस्था हाँक्नेहरूले । सिंहदरबारमा सयौं गाडीको ताँति हुँदा त्यहि हुनपर्ने होइन दमकल लगायतका थुप्रै क्राइसिस म्यानेजमेन्टका टुल र प्रणाली ? एउटाले काम नगरे अर्काे हुनुपर्ने होइन ? केही यूवाहरूले प्रयास गरे, राष्ट्रिय अभिलेखालय जोगियो । कस्ले गर्याे निभाउने र जोगाउने प्रयास ? दुःखको कुरा, कवाडी र फोहोर पनि राम्रोसँग ठेगान लगाउन जानेको छैन हाम्रो सिंहदरबारले । दलियकरण नभएको संस्था बाँकि भएको भनेको सेना रहेछ । त्यसैले त्यत्रो टेरर पछिको अवस्थालाइ विस्तारै ट्रयाकमा ल्याउँदैछ । त्यसैले अलि सुझबुझ पूर्ण काम गरेकोले थप क्षति भएन र परिवर्तन पनि हुन लाग्यो ।

यो अप्रिय लाग्ने कुरा पनि नभुलौं, हामीले घुस खाने भएर नै, हामीले भ्रष्टाचारको अखडा बनाएकोले नै, हामीले जनताको करबाट तलब खाने र उनीहरूलाइ नै भनेजस्तो सेवा नदिएकैले निशानामा परेको हो हाम्रा कार्यालयहरू । हामीले समाजमा हुने र नहुने विचमा ठूलो खाडल बनाएर नै र हुनेखानेले नहुनेहरूप्रति अलिकति पनि दयाभाव राख्न नजानेकोले नै यो वितन्डामा ध्यू थपेको हो । गल्ती हामीले गर्याैं, निशानामा परे ती भौतिक संरचनाहरू । सिसिटिभी र अन्य फुटेज हेरेर आगजनी र लुटपाटमा संलग्नहरूलाइ कारबाही गर्नुपर्छ । तर सदाको लागि यो वितन्डा रोक्ने उपाय भनेको, घुस खान रोक्ने, भ्रष्टाचार रोक्ने, जनमैत्री हुने र समाजमा राज्यले अवसरको वितरणमा कुनै भेदभाव नगर्ने खालको प्रणालीको विकास गर्ने नै हो । सायद जेन जी पुस्ताले देख्न रोजेको समाज र राज्य त्यस्तै खालको होला ।

संसारको कुनै पनि परिवर्तन शान्ति मत्रोउच्चारण र पुराना प्रणाली बनाउँदाको नियम समातेर आँउदैन । मान्छे जन्मँदै शान्त र अशान्त दुवै हुन्छ । दुध खान पाएन भने बच्चा अशान्त हुन्छ, पाएपछि आरामसँग सुत्छ । शान्ति र अशान्तिको त्यो उबचबमयह हाम्रो जन्मजात गुण हो । जेनजी पुस्ताले नेपालको राजनीतिमा रगतले लेखेर कोरेको यो बाटोमा हामी हिँड्न सबैले आत्माशुद्धि त गर्नैंपर्छ । तपाईंले, मैले, सबैले । नत्र अल्फा पुस्ताको रगतमा यसरी नै हिड्न हामी आजैदेखि तयार रहनुपर्छ ।