-डा. युवराज संग्रौला ।
सम्पूर्ण नेपाली दाजुभाइहरुले केही कुरा गम्भीर भएर सोच्नुपर्छ । हामी उर्लिँदो भलबाढीमा डुंगाको यात्रामा छौं । हामीले डुंगा (boat ) जोगाउन सकेनौं भने हाम्रो यात्रा र ज्यान दुवै सकिनेछन् । यो डुंगा हाम्रो देश हो । हामीले सतर्क हुनुपर्छ।
१. सबै जेनजीका साथीहरू तपाईंहरुलाइै थाहा छ कसरी तपाईंहरुको आन्दोलन हाइज्याक गरेर लुटपाटमा लगियो । हामीले होस गर्नुपर्छ । अहिले हामीसँग केही छैन । सिंहदरबार जलाइयो । संसद जलाइयो । सर्वोच्च अदालत पनि जलाइयो । प्रहरी कार्यालयहरु सबै जलाइए । अर्थात् देशलाई बर्बाद पार्ने तत्वको व्यापक घुसपैठ भएको थियो । यसबाट हाम्रो देशकाबिरुद्ध कोही सक्रिय भएको छ । यो कुरा हामीले दिमाग राखेर मात्र सबै कुरा सोच्नु पर्छ ।
२. हिजोदेखि नै आन्दोलनको आह्वान गर्ने भन्दा संदिग्ध मान्छेहरु सेनासँग छलफलमा सक्रिय भए । को प्रधानमन्त्री भनेर लडाईं नै गर्न थाले । यो शुभ संकेत होइन ।
३. अहिले हामीसँग संविधान छ । संविधान रहेसम्म राष्ट्रपति र सभामुख रहन्छन्, संसद भंग भएपनि । संविधानमा अध्यादेशबाट संशोधन गरेर सरकार चलाउन र निर्वाचन सम्पन्न गर्न सकिन्छ । अतः केही मानिसले अहिले नै संविधान खारेज गर्नुपर्छ भनी उठाइरहेको मागले राष्ट्रलाई घातक मार्गमा लैजाने छ । तेसो भयो भने हाम्रो डुंगा पल्टिने छ ।
४. केही बाहिरी शक्ति यो संविधान आउनै नदिने पक्षमा थिए । तर पनि यो आयो । अत्यन्त ठूलो दवावका माझबाट आएको हुंदा यस्मा धेरै गल्ती भए। अतः सच्याउने कुराहरु धेरै छ्न। त्यो अब हुने निर्वाचन पछि बन्ने संसदले गर्नेछ र त्यसले अहिलेको पुस्ताको प्रतिनिधित्व पनि गर्नेछ । तसर्थ अहिले संविधान खारेज गर्नु भनेको जेनजीको होइन अरुकै स्वार्थ पुरागर्ने योजना कार्यान्वयन गर्नु हो ।
५. संविधानले देशलाई ‘सार्वभौमसत्ता लोकतान्त्रिक’ भनेको छ । संविधानै खारेज गरेपछि त हाम्रो सत्तानै कुण्ठित हुन्छ । हाम्रो सर्वोच्च अदालत जलाएर कामै गर्न नसक्ने पारेको छ। यस्तो अवस्थामा संविधान खारेज गर्नु भनेको ब्वाँसाले आक्रमण गर्नेबेलामा छानो फ्याँक्नु जस्तो हो । ख्याल गरौं । केही मानिस संविधानको खारेज गर्नुपर्छ भनी विचार दिइरहेका छन् । यो गलत हुन्छ । अतः यो कुरामा ख्याल गरौं ।

प्रतिक्रिया