काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले सोमबार इतिहासकै कलङ्कको रूपमा भएको नरसंहारको जिम्मा सरकारले लिनुपर्ने र प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने बताएको छ ।
सोमबार राति आकस्मिकरुपमा बसेको पार्टी पदाधिकारी बैठकले नरसंहारको जिम्मा प्रधानमन्त्रीले लिनुपर्ने निष्कर्ष निकालेको हो । बैठकले भ्रष्टाचारको अन्त्य र सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति जेनजी पुस्तासँग आफूहरुको धारणा समान रहेको बताएको छ ।
बैठकले आन्दोलनलाई शान्तिपूर्ण र संयमित रूपमा सञ्चालन गर्न पनि अपील गरेको छ । बैठकले . प्रदर्शनका क्रममा मृत्यु भएका व्यक्तिहरूलाई सहिद घोषणा गर्न, साथै भोलि (भदौ २४ गते ) साँझ ५ बजे देशभरका सबै स्थानीय तहहरूमा श्रद्धाञ्जली सभा आयोजना गर्न निर्णय गरेको छ ।
बैठकले घटनाको स्वतन्त्र, निष्पक्ष र न्यायिक छानबिन गर्न आयोग गठन गरी दोषीहरूलाई कडा कारबाही गर्न र देशभक्त तथा परिवर्तनका पक्षधर लोकतान्त्रिक शक्तिहरूसँग संवाद गर्दै एकताबद्ध भई समस्याको समाधान गर्न अपील गरेको छ ।
बैठकले जेनजी पुस्ता र माओवादी केन्द्रबीच साझा अवधारणा भएकाले आगामी दिनमा कसरी अघि बढ्ने भन्ने विषयमा संवाद गर्न युवा पुस्ताका प्रतिनिधिहरूसँग अपीलसमेत गरेको छ ।


प्रतिक्रिया